तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चार जगत रचनात्मक बन्नुपर्छ : अध्यक्ष बस्नेत

भक्तपुर । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार जगत आलोचक मात्र नभई रचनात्मक बन्नुपर्ने बताउनुभएको छ ।

सुर्यबिनायक नगरपालिका ३ बालकोटस्थित जुरिज किण्डर गार्डेनको ग्र्याजुएसन तथा अभिभावक दिवसमा अध्यक्ष बस्नेतले पत्रकारले देश र समाजमा भएका असल अभ्यासहरूलाई उजागर गर्नुपर्ने बताउनुभयो ।

देशमा आधारभूत तहदेखि कक्षा १२ सम्मको शिक्षा दिने संस्थाहरूले उत्कृष्ट शिक्षा दिए पनि १२ कक्षापछि युवाहरू विदेशिने कारण खोज्नुपर्ने बेला आएको बताउनुभयो ।

विद्यमान शिक्षा नीतिमा सुधार गरी युवा, विद्यार्थीहरूलाई देशमै टिकाउने वातावरण निर्माण गर्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा पत्रकार महासङ्घका केन्द्रीय सचिव गोविन्द चौलागाई, एसओएस हर्मन माइनर विद्यालयका शिक्षक प्रतिनिधि कृष्णप्रसाद गौतम, ब्रम्हनगर टोल सुधार समितिका अध्यक्ष मिना कार्की लगायतले विद्यालयले बालबालिकाको मनोविज्ञानलाई बुझेर स्तरीय शिक्षा प्रदान गरिरहेको बताउनुभयो ।

जुरिचका प्रिन्सिपल अमृत राउतले विद्यालय व्यवस्थापन समुदायमा विद्यालय प्रतिको भरोसा बढाउनुका साथै शैक्षिक र सामाजिक कार्यमा समेत सक्रिय रहेको बताउनुभयो ।

कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम, योग र जुम्माको उत्कृष्ट प्रदर्शन गरेका थिए ।

सो अवसरमा उत्कृष्ट शिक्षक तथा शैक्षिक र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान र पुरस्कार वितरण गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button