तपाईँ सुन्दै हुनुहुन्छः

शीतभण्डार उपयोगविहीन

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीको सुस्तामा रू पाँच करोड लागतमा निर्माण गरिएको शीतभण्डार (चिस्यान केन्द्र) उपयोगविहीन भएको छ । जिल्लाको सुस्ता गाउँपालिका–४ नर्सहिमा निर्माण गरिएको शीतभण्डार प्राविधिक समस्याले प्रयोगविहीन भएको हो ।

सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले उक्त शीत भण्डारमा केही प्राविधिकतर्फको काम बाँकी रहेकाले प्रयोगमा नआएको बताउनुभयो । “शीत भण्डारलाई ठेकेदारले निर्माण सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्तरण गरे पनि भित्र तथा बाहिरका केही प्राविधिक काम अधुरा छन् ।” शीतभण्डार भित्र राखिने काठ (भुईँमा  काठ बिछ्याइएको) नभएकाले प्रयोगमा ल्याउन तत्काल नसकिएको उहाँको भनाइ छ ।

उक्त काठ नराखेमा भण्डारण गरिएका आलु, प्याज तथा फलफूलहरू कुहिने भएकाले अहिलेसम्म सञ्चालनमा नआएको अध्यक्ष उपाध्यायले बताउनुभयो । विद्युत् नभएको, सुरक्षाको दृष्टिकोणले गार्ड बस्ने कोठा, तारबार तथा पर्खाल कम्पाउन्डलगायतका काम बाँकी रहेकाले सञ्चालनमा ढिलाइ भएको उहाँको भनाइ छ ।

अध्यक्ष उपाध्यायका अनुसार उक्त शीत भण्डारमा एक हजार मेट्रिक टनसम्म भण्डारण गर्न सकिन्छ । अहिले पाँच सय मेट्रिक टनबाट सञ्चालनको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । “शीत भण्डारलाई यही चैत मसान्तभित्र सञ्चालन गर्ने तयारी गरिरहेका छौँ । सके किसानलाई सञ्चालन गर्न भन्ने हो, सकेनन् भने सहकारीमार्फत वा सूचना निकालेर कुनै संस्थालाई जिम्मेवारी दिनेछौँ ।”

लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको उक्त शीत भण्डारमा अहिले पनि रू ३५ लाखको भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जानकारी दिनुभयो । सञ्चालनका लागि बाँकी प्राविधिक तथा केही पूर्वाधार निर्माण भइरहेको उहाँको भनाइ छ ।

भुसालका अनुसार निर्माण कम्पनीले शीतभण्डार सम्पन्न गरेर करिब तीन वर्षअघि नै गाउँपालिकालाई हस्तान्तरण गरेको थियो । तीन वर्षअघि सम्पन्न भएको उक्त शीतभण्डार सञ्चालनमा आउन नसकेपछि स्थानीय किसानलाई समस्या हुँदै गएको बताउँछन् । यहाँका केरा उत्पादक र अन्य किसानलाई कृषिजन्य उत्पादन भण्डारणमा चुनौती थपिएको केरा उत्पादक सङ्घ नवलपरासीका अध्यक्ष लख्खु यादवले बताउनुभयो । किसानका लागि निर्माण गरिएको शीतभण्डार तत्काल सञ्चालनमा आउनुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button