तपाईँ सुन्दै हुनुहुन्छः

समाजलाई बुझाउन नसके पत्रकारितामा चुनौती बढ्छ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले सामाजिक सञ्जाल र पत्रकारितालाई समाजमा बुझाउन नसके नेपाली पत्रकारितामा थप चुनौती आउने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घको ६९ औँ स्थापना दिवसको अवसरमा पोखरामा आयोजित समारोहमा मुख्यमन्त्री पाण्डेले सामाजिक सञ्जाल र पत्रकारिता फरक विषय भएको बारेमा समाजमा राम्रोसँग बुझाउन आवश्यक भएको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ कास्की शाखाले सञ्चालन गरेको पोखरा पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुहुने अग्रज पत्रकार गंगाधर पराजुली र राजु भण्डारी एवं स्व.गजेन्द्र भण्डारीको परिवारजन (संस्थागत तर्फ) लाई गर्दै मुख्यमन्त्री पाण्डेले सम्मान गर्दै पत्रकारितामा हाल केही समस्या आएको त केही समस्या पत्रकार आफैँले ल्याएको जनाउनुभयो । गण्डकी प्रदेशमा मिडिया विधेयक आएकोले अब प्रदेश सरकारसँग पत्रकारले गुनासो गर्ने ठाउँ प्रेस रजिस्ट्रारको कार्यालय हुने उहाँको भनाई थियो ।

लोक कल्याणकारी विज्ञापनमा चालु आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा ५० प्रतिशत वृद्धि गरिएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

संघका कास्की अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको सचिव माधव बरालले बताउनुभयो । पत्रकारितामा संकट र समाधानका उपाय विषयक संवादमा पत्रकारहरूले अझै पनि श्रमजीवी पत्रकारहरूले उचित श्रम नपाएको, पत्रकारितामा चुनौती थपिएको, आर्थिक मन्दिले गर्दा सञ्चार माध्यमहरू सञ्चालनमा कठिन भएको, ठुला कर्पोरेट हाउस तथा केही कम्पनीहरूले सामाजिक सञ्जाललाई प्रयोग गरी अर्बौँ पैसा बाहिर लगेको सन्दर्भमा उक्त रकमलाई नेपाली सञ्चार माध्यममा मापदण्ड बनाएर वितरण गर्नुपर्ने लगायतका सुझाव दिनुभएको थियो ।

पत्रकार गंगाधर पराजुलीले उक्त पुरस्कारसहित नगद ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नुभएको हो । गजेन्द्र भण्डारी स्मृति पत्रकारिता पुरस्कार स्थापना गर्ने स्व.गजेन्द्र भण्डारी परिवारलाई महासङ्घले सम्मान गरेको उपाध्यक्ष जमुना शर्मा बर्षाले जनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button