तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा मेयर कप टी–२० क्रिकेट प्रतियोगिता भोलिदेखि  

जनकपुरधाम ।  जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा भोलिदेखि जनकपुरधाममा मेयर कप टी–२० क्रिकेट प्रतियोगिता शुरु हुने भएको छ । 

जनकपुरधामको निर्माणाधीन रामजानकी बहुउद्देश्यीय रङ्गशालामा हुने मेयर कप टी–२० क्रिकेट प्रतियोगितामा मधेश प्रदेशका ८ जिल्लाको सहभागिता रहने र प्रतियोगिताको सबै तयारी पुरा भएको जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डेले जानकारी दिनुभयो  । 

जनकपुरधाम उपमहानगरपालिकाको आयोजना तथा जिल्ला क्रिकेट सङ्घको समन्वयमा हुन लागेको प्रतियोगिता दुई समूहमा टीमलाई विभाजित गरेर खेलाइने आयोजकले जनाएको छ ।  क समूह धनुषा, महोत्तरी, सर्लाही र सिरहा जिल्ला रहेका छन् भने ख समूहमा सप्तरी, रौतहट, बारा तथा पर्सा जिल्ला रहेका छन् । 

गत वर्षदेखि जनकपुरधाम उपमहानगरपालिकाले वार्षिक कार्यक्रममा नै बजेट समावेश गरेर प्रतियोगिताको आयोजना गर्दे आएको छ ।

प्रतियोगितामा विजेतालाई २ लाख ५१ हजार नगद, शिल्ड कप तथा प्रमाणपत्र प्रदान गरिने छ भने उपबिजेता टिमलाई १ लाख ५१ हजार नगद, शिल्ड कप तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । 

प्रतियोगितामा प्रत्येक दिन म्यान अफ दि म्याज हुनेलाई नगदसहित पुरस्कृत गरिने जनाइएको छ । 

प्रतियोगिता अवधिमा सर्वोत्कृष्ट ब्याटिङ गर्ने व्याट्स म्यान तथा सर्वोत्कृष्ट बलिङ गर्ने बलरलाई पुरस्कृत गरिने पनि आयोजकले जनाएको छ ।

प्रतियोगिताको मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उद्घाटन गर्नुहुने  जिल्ला क्रिकेट संघका अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button