तपाईँ सुन्दै हुनुहुन्छः

नाग्म–गमगढी सडक : ३२ करोड लगानीमा १० पक्की पुल बन्दै

जुम्ला । मुगुको रारा ताल जाने पर्यटकीय मार्ग ‘नाग्म–गमगढी’ सडक अन्तर्गत विभिन्न खोलामा १० वटा पक्की पुल निर्माण भइरहेका छन् । सडक डिभिजन जुम्लाको पहल तथा पुल विभागको लगानीमा ठेक्का आह्वान भई पुल निर्माण भइरहेका छन् ।

नाग्म–गमगढी सडकको विभिन्न खोलामा पुल विभागको ३२ करोड ६८ लाख ९२ हजार बजेट लगानीमा १० वटा पक्की पुल निर्माण भइरहेको सडक डिभिजन जुम्लाले जनाएको छ ।

यद्यपि १० वटा पुलमध्ये चार पुलको निर्माण कार्य अझै सुरु हुन सकेको छैन भने ६ वटाको निर्माण भइरहेको छ ।

सडक डिभिजन जुम्लाका सूचना अधिकारी चित्र चौलागाइका अनुसार नाग्म–गमगढी सडकको प्रवेशद्वारमै जग्गाको मुआब्जा विवादले भने पुल निर्माण अघि बढ्न सकेको छैन ।

०७८ साल फागुन ९ गते ठेक्का सम्झौता भई आगामी ०८२ साल भदौ ८ गते कार्य सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि चार वटा पुलको काम सुरु नहुनुले निर्धारित समयमा पुल निर्माण हुनेमा शङ्का खडा भएको छ ।

‘हिम सगरमाथा कन्स्ट्रक्सन’ प्रालि भरतपुर–१० चितवनले १० वटै पक्की पुलको ठेक्का पाएको छ । मौसमी प्रतिकुलता, जनशक्ति, निर्माण सामाग्री, बजेटको अभाव तथा कठिन भूगोलबिच पनि निर्माण कार्य भइरहेको कम्पनीले जनाएको छ ।

बन्न बाँकी ४ वटा पुलको कामलाई पछि अघि बढाउने र निर्धारित समयमै १० वटै पुलको काम सम्पन्न गर्ने कम्पनीको दाबी छ । पुल निर्माणपछि रारा आउने पर्यटक र सिञ्जा क्षेत्र र मुगुका नागरिकलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button