तपाईँ सुन्दै हुनुहुन्छः

महको बजारीकरण वृद्धि गर्न विविधीकरणमा जोड 

चितवन । पछिल्ला वर्षहरूमा महको मौज्दात रहेको भन्दै महको बजारीकरण गर्न सरोकारवालाहरुले विविधीकरणमा जोड दिएका छन् । १८ औँ राष्ट्रिय मह दिवसको अवसरमा आज भरतपुरमा आयोजित मौरीपालन व्यवसाय प्रवर्द्धन तथा बजारीकरण विषयक कार्यक्रममा यस्तो बताएका हुन् ।

कार्यक्रममा  बोल्दै पर्वत मौरी फार्मका सञ्चालक ज्ञानप्रसाद सापकोटाले अब कच्चा महमात्रै बिक्री नगरी महबाट रोयल जेली, परपोलिस, बी– भेनम लगायतका उत्पादनमा विविधीकरण गर्नुपर्ने बताउनु भयो । ‘कोरोना पछि चितवनका ९० प्रतिशतसम्म मह स्टक छ, उहाँले भन्नुभयो, अब हामीले यसलाई विविधीकरण गरेर बिक्री गर्नु जरुरी छ ।’

यसका लागि राज्यका निकायले उत्पादन वृद्धिसँगै बजारीकरण गर्न सहयोग गर्नुपर्ने उहाँको भनाई छ  । नेपाल मौरी पालक महासङ्घका निवर्तमान अध्यक्ष शिवप्रसाद शर्माले किसानको मह अहिले बिक्री नभईरहेको देशका विभिन्न ठाउँमा यथाशीघ्र मह सङ्कलन केन्द्र सञ्चालन गर्नुपर्ने बताउनु भयो । ‘अब राज्यले मह सङ्कलन एकद्धार बनाउने र वितरण विकेन्द्रीकरण गर्ने नीति लागु गर्नुपर्छ ।’ शर्माले भन्नुभयो । 

नेपाली महको लागत मूल्य बढ्दै गएको र भारतीय महसँग प्रतिस्पर्धा गर्न नसकिएकोले पनि महको उत्पादनलाई विविधीकरण गर्नुपर्ने उहाँको जोड दियो । नेपाल मौरी पालक महासङ्घ , बाग्मती प्रदेशका महासचिव गंगा प्रसाद सापकोटाले उत्पादन वृद्धिका लागि राज्यले अनुदान र तालिम दिएपनि बजारीकरणको लागि पनि तालिम र सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले नेपाली बजारको प्रवर्द्धन गर्न विविधीकरण विकल्प नरहेको उहाँको भनाई थियो ।‘ दूधको बजारीकरणको लागि डेरी र कोल्ड स्टोर छन्, अन्य कृषि उपजको लागि सहकारी र बिक्री केन्द्र छन् , तर महको लागि मह बिक्री केन्द्र कहीँ पनि छैन ।’ सापकोटाले भन्नुभयो । अर्का किसान शंकरराज भट्टले  महको गुणस्तरीय र मूल्य राज्यले गर्नुपर्नेमा जोड दिनुभयो । 

नेपाल मौरी पालक सञ्चालन समन्वय समिति, चितवनका संयोजक रामप्रसाद पौडेलले किसानले लागत मूल्य भन्दा आधा मुल्यमा मह बिक्री गर्नुपर्ने भन्दै नेपाली महको विविधीकरणका साथै आयातित महमा भन्सार दर बढाउनु पर्ने बताउनु भयो । ‘लागत मूल्य ४१२ रुपैयाँ प्रतिकेजी छ उहाँले भन्नुभयो , अहिले मह बिक्री नभएर प्रतिकेजी २०० देखि ३०० मा बेच्नुपरेको छ ।’

मौरी पालक महासङ्घका अध्यक्ष सुवास घिमिरेले महको बजारीकरणको लागि देशका विभिन्न जिल्लामा महको बिक्री केन्द्र , र सरकारी निकायमा कर्मचारीहरूले नेपाली महको उत्पादन उपभोग गर्न लाउनु पर्ने, नेपालमा रहेका बहुराष्ट्रिय कम्पनीलाई नेपाली मह खरिद गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै कृषि विकास निर्देशनालय, बाग्मती प्रदेशका निर्देशक सुधीर श्रेष्ठले सरकारी निकायले मात्रै महको बजारीकरण गर्न सम्भव नरहेको बताउनु भयो । महको उत्पादनसँगै उपभोगमा वृद्धि गर्ने खालका उपाय तथा रणनीति ल्याउनु पर्ने उहाँको भनाई थियो । ‘राज्यको एकल प्रयासले मात्र महको बजारीकरण गर्न सम्भव हुँदैन, उहाँले भन्नुभयो, मौरी उत्पादन, बिक्रेता तथा किसानको पनि उत्तिकै दायित्व र जिम्मेवारी हुन्छ । राज्यले प्रवर्द्धनमा मात्रै सहयोग गर्ने हो ।’ हाल महको प्रशोधन र भण्डारणको लागि सरकारले उपकरण सहितको सङ्कलन केन्द्रको लागि सहयोग गरेको बताउनु भयो । 

सहभागी अन्य वक्ताहरूले महको लेबलिङ्ग, प्याकेजिङ्ग, ध्यान दिनुपर्ने, मह उपभोक्तालाई सहजै उपलब्ध गराउनुपर्ने, महको विषयमा सचेतना फैलाउनु पर्ने लगायतका विषयमा जोड दिनुभएको थियो। 

कार्यक्रममा मौरी विकास केन्द्र, भण्डाराका प्रमुख सुजन अम्गाईले महको महत्वमाथि प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रम मौरी विकास केन्द्र, नेपाल मौरी पालक महासङ्घ, कृषि विकास कार्यालय, चितवन, प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना, कार्यान्वयन इकाई चितवनको आयोजनामा सम्पन्न  भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button