तपाईँ सुन्दै हुनुहुन्छः

नेपालद्वारा आयरल्यान्ड वुल्भ्स विरुद्धको टी–२० शृङ्खला क्लिन स्वीप

काठमाडौँ । नेपालले आयरल्यान्ड वुल्भ्सविरुद्धको दुई खेलको टी–२० शृङ्खला क्लिन स्वीप गरेको छ ।

सोमबार सम्पन्न पहिलो खेलमा नेपालले ६ विकेटको जित हासिल गरेको थियो । मङ्गलवार सम्पन्न दोस्रो खेलमा नेपालले आयरल्यान्डलाई ७१ रनले पराजित गर्दै शृङ्खला २–० ले क्लिन स्वीप गरेको हो । नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले १८.३ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन मात्रै बनाउन सक्यो ।

आयरल्यान्डका स्टीफन डोहेनीले सर्वाधिक २६ रन बनाए । मोर्गन टपिङ २१, केड कार्माइकल १८, रोस अडायर १७, निल रक १७, फिओन ह्यान ५ रनमा आउट हुँदा ग्यारेथ डेलानी १५ रनमा आउट भए । आयरल्यान्डका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका कुशल मल्ल र सोमपाल कामीले ३/३ विकेट लिए । करण केसी, कुशल भुर्तेल र विवेककुमार यादवले १/१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको हो । नेपालका कुशलले ३४ रन प्रहार गरे ।

यता, गुल्शनकुमार झाले सर्वाधिक ४६ रनको योगदान दिए । कप्तान रोहितकुमार पौडेल ३३, कुशल भुर्तेल २५, सन्दीप जोरा २१, अनिल साह १२ र आसिफ शेख ११ रनमा आउट हुँदा विवेककुमार यादव ७ रनमा अविजित रहे ।

आयरल्यान्डका म्याथ्यु फोस्टरले सर्वाधिक ३ विकेट लिए । बेन ह्वाइटको नाममा २ विकेट रहँदा फिओन ह्यान्ड र गेभिन होईको नाममा १/१ विकेट रह्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button