तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा एसइई परीक्षाको तयारी पूरा, ४२ केन्द्रमा ६३० सुरक्षाकर्मी परिचालन

चितवन । चैत १५ गतेबाट सुरु हुन लागेको यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चितवनमा ६३० सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।

शिक्षा विकास समन्वय इकाइ भरतपुरले आयोजना गरेको केन्द्राध्यक्षसँग अभिमुखीकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले एसइई परीक्षाका लागि ६३० सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिनुभयो  । “चितवन जिल्लाभर एसइई परीक्षाका लागि ४२ वटा केन्द्र तोकिएको छ, प्रत्येक केन्द्रमा १५ जना सुरक्षाकर्मी खटिने छन्”, प्रजिअ थापाले भन्नुभयो ।

चितवनका प्रहरी प्रमुख भावेश रिमालले परीक्षा हलमा कुनै विद्यार्थीले अवाञ्छित गतिविधि गरे वा हुलहुज्जतको प्रयास गर्न खोजे केन्द्राध्यक्षले निर्देशन पुस्तिकाअनुसार कारबाही गर्न सक्ने बताउनुभयो  । 

प्रमुख रिमालले सुरक्षाको दृष्टिकोणले परीक्षाको तयारी करिब पूरा भएको बताउनुभयो । उहाँका अनुसार एसइई परीक्षालाई मर्यादित, अनुशासित तवरबाट सम्पन्न गरिने छ ।

शिक्षा विकास समन्वय इकाइ भरतपुरका प्रमुख भूमिलाल सुवेदीले ४२ केन्द्रमध्ये २२ केन्द्र मात्रै भरतपुर महानगरपालिकामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबैलाई पायक पर्ने गरी केन्द्र तोकिएको छ, इच्छाकामना गाउँपालिकामा २ वटा केन्द्र राखिएको छ ।”

उहाँका अनुसार रत्ननगर नगरपालिकामा सात, खैरहनी नगरपालिकामा चार, माडी नगरपालिकामा दुई, राप्ती नगरपालिकामा तीन र कालिका नगरपालिकामा दुईवटा केन्द्र तोकिएको छ ।

चितवनका २३४ वटा विद्यालयले एसइई परीक्षामा सहभागिता जनाउने छन् । जसमा सामुदायिक विद्यालयतर्फ १०८ र संस्थागततर्फ ११८ विद्यालय छन् ।

चितवन जिल्लाबाट ५ हजार ५९१ छात्र र ५ हजार ३३२ छात्राले परीक्षा दिनेछन् । प्राविधिक धारका २१७ र ग्रेड वृद्धिको परीक्षा दिने १३५ जना रहेको प्रमुख सुवेदीले बताउनुभयो । अभिमुखीकरण कार्यक्रममा प्रमुख सुवेदीले पावर प्रिजेन्टरमार्फत कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

गत वर्ष चितवनमा ११ हजार ८४४ जनाले एसइई परीक्षा दिएका थिए । यसपटक प्राविधिक धारतर्फका सात वटा विद्यालयले एसइई परीक्षामा सहभागिता जनाउने भएका छन् । 

यस्तै सात वटा संस्कृत विद्यालयबाट ४७ जना विद्यार्थीहरूले एसइईमा सहभागिता जनाउने शिक्षा विकास तथा समन्वय इकाइ चितवनले जनाएको छ ।

समन्वय इकाइका सूचना अधिकारी दीपेन्द्रराज श्रेष्ठका अनुसार गत वर्ष जस्तै यसवर्ष पनि ‘होम सेन्टर’ छैन । बिहान ८ बजेबाट सुरु हुने परीक्षा ११ः०० बजे सकिने छ । 

श्रेष्ठका अनुसार ५० पूर्णाङ्कको विषयको परीक्षाको समय दुई घण्टा र ७५ पूर्णाङ्कको समय तीन घण्टा हुनेछ । सबै विषयमा प्रयोगात्मक परीक्षा पनि छ ।

यस वर्षदेखि विज्ञान विषयको १० अङ्कको वस्तुगत प्रश्न पनि आउने सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । यसै वर्षदेखि नयाँ ग्रेडिङ प्रणाली लागू हुने समन्वय इकाइका रमेश अधिकारीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button