तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक : छानबिन समिति गठनको माग

संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधिसभाको बैठकमा सहभागी सांसदहरु । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सहकारी ठगीका सम्बन्धमा अनुसन्धानका लागि छानबिन समिति गठनलगायतका विषय उठान गर्नुभएको छ ।

बैठकको आकस्मिक समयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद ईश्वरीदेवी न्यौपानेले विभिन्न सहकारीको पैसा हिनामिना भएको विषयमा अध्ययन गर्न सदनमै छानबिन समिति गठनको माग गर्नुभयो । अप्ठ्यारो समयका लागि  भन्दै बचतकर्ताले आफू र बच्चाका नाममा जम्मा गरेको ठूलो रकम हिनामिना भएको भन्दै उहाँले छानबिन समिति गठनको माग गर्नुभयो । 

“सहकारीमा बचत गरेको पैसा हिनामिना गर्नेलाई कारबाही गरी पीडितको पैसा फिर्ता हुनुपर्छ । सहकारीको रकम हिनामिनामा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने पनि मुछिनुभएको छ”, सांसद न्यौपानेले भन्नुभयो, “सूर्यदर्शन सहकारीका पीडितले दिएको उजुरीपछि गठन गरेको विज्ञको प्रतिवेदनमा पनि सो कुरा उल्लेख छ । सो विवरणमा बचतकर्ताको करोडौँ रकम हिनामिना भएको देखिएको छ ।” सांसद न्यौपानले गरिबहरूले पेट काटेर पैसा बचत गरेका पैसा फिर्ता हुनुपर्नेमा माग गर्नुभयो ।

सांसद मानवीर राईले सोलुखुम्बुको सोताङ गाउँपालिका वडा ३ निवासी तुलामान राई यही चैत ६ गते हुँगा नदीमा पुल बनाउने क्रममा ढुङ्गा किचेर मृत्यु भएको भन्दै निजको परिवारजनलाई क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले गत फागुन २७ गते हराएका केशव राईको शव दुधकोशी नदीको किनारामा भेटिएको हुँदा मृत्युबारे अध्ययन गर्नुपर्ने र शान्ति सुरक्षालाई सरकारले विशेष ध्यान दिनुपर्ने माग गर्नुभयो । सांसद राईका अनुसार लामो समयदेखि सोताङ इलाका कार्यालयमा प्रशासकीय अधिकृत नहुँदा नागरिकता लिनेलगायतको काम हुन सकेकोभन्दै ध्यानाकर्षण गराउनुभयो । 

सांसद नारायणी शर्माले दाङको राजपुर गाउँपालिकामा तीन परिवार र गढवा गाउँपालिकाको मुलमान आचार्यको घर जलेर नष्ट भएको भन्दै क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।  उहाँले दुवै गाउँपालिकामा जनता घरमा जस्तापाताको छाना लगाउने आशामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

     सांसद प्रेम सुवालले नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको भन्दै सेवालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद अमरबहादुर थापाले दैलेखमा पेट्रोलियम पदार्थ उत्खननका सामग्री भन्सारमा रोकिँदा उत्खनन रोकिएबारे जानकारी गराउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button