तपाईँ सुन्दै हुनुहुन्छः

आइसिसीका अध्यक्ष ग्रेग बार्कले काठमाडौँमा

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)का अध्यक्ष ग्रेग बार्कले काठमाडौँ आइपुग्नुभएको छ ।

भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौँको नियमित उडानमार्फत उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नुभएको हो । आइसिसीका अध्यक्ष बार्कलेलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीले स्वागत गरेका छन् ।

चार दिने नेपाल भ्रमणका क्रममा अध्यक्ष बार्कलेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टंकलाल घिसिङ र क्रिकेट संघका पदाधिकारीसँग छलफल गर्ने कार्यतालिका रहेको छ ।

अध्यक्ष बार्कले मङ्गलवार क्यानका बोर्ड सदस्यहरूसँग छलफल गर्ने र त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानका साथै मूलपानीको पनि भ्रमण गर्नु हुनेछ । यसैगरी बुधबार अध्यक्ष बार्कलेलाई माउन्टेन फ्लाइट गराउने तयारी क्यानले गरेको छ भने स्वयम्भू, पाटन दरबार स्क्वायर र बौद्ध स्तुपाको भ्रमण पनि उहाँले गर्नुहुनेछ ।

अध्यक्ष बार्कलेको बिहीबार बिहान काठमाडौँबाट नयाँ दिल्ली नै फिर्ता हुने तालिका रहेको छ । भारतमा शुक्रवारबाट सुरु हुन लागेको इन्डियन प्रिमियर लिगको उद्घाटन समारोहमा सहभागी भएर उहाँ आफ्नो देश फिर्ता हुने जनाइएको छ ।

नेपाली क्रिकेट टिमले पछिल्लो समय हासिल गरेको सफलता पछि आइसिसीले पनि नेपालको क्रिकेट विकासबारे चासो राख्न थालेकाले अध्यक्ष बार्कलेको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button