तपाईँ सुन्दै हुनुहुन्छः

उपभोक्ता अधिकार दिवस वर्षभरी मनाउन अपिल

सुर्खेत । कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले उपभोक्ता अधिकार दिवस वर्षभरी नै मनाउन आग्रह गर्नुभएको छ ।

उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजना गरेको प्रभात फेरीपछि आयोजित कोणसभामा उहाँले वर्षको एक दिन औपचारिक कार्यक्रम आयोजना गरेर ‘झारा’ टार्ने परिपाटीबाट माथि उठेर ३ सय ६५ दिन नै उपभोक्ता सचेतना र अधिकारका पक्षमा लड्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रकुमार वासुकलाले कर्णाली प्रदेश सरकारले उपभोक्ता अधिकारको रक्षाका लागि प्रदेश स्तरीय बजार अनुगमन समिति गठनसहित थप कानून निर्माणको प्रक्रियामा रहेको जानकारी दिनुभयो ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले उपभोक्ताको स्वास्थ्यसँग खेलबाड नहोस् भन्ने उद्देश्यले बेलाबखत नियमकारीले बजार अनुगमन गदै आइरहेको बताउनुभयो ।

उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक मुकुन्दनाथ योगीले उपभोक्ताको मौलिक हक कार्यान्वयनमा तिनै तहका सरकारसँगै उत्पादक र उपभोक्ता पनि सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेश संयोजक आकाश तारा बयकले एक दिने कर्मकाण्डी दिवसले आम उपभोक्ता अधिकार संरक्षण र प्रवर्द्धन हुन नसकेको जानकारी दिनुभयो ।

यसैबीच, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतले विश्व उपभोक्ता दिवसको अवसरमा उपभोक्ता हक, हित र अधिकारका क्षेत्रमा योगदान पुर्‍याए बापत चार जनालाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरूमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापा, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका प्रशासकीय अधिकृत थिरबहादुर श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय सुर्खेत खरिदार सरस्वतीकुमारी रेग्मी र पत्रकार सुशील कुमार खड्का रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button