तपाईँ सुन्दै हुनुहुन्छः

सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

बैठकको विशेष समयमा बोल्दै सांसदहरुले मिटरव्याज पीडितसँग भएको सम्झौता कार्यान्वयन हुनुपर्ने, देशभरका अस्पतालमा जनशक्ति अभावले नागरिकको स्वास्थ्यमा गम्भीर असर गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गर्नुभयो । 

सांसदहरुले दुध किसानहरूको भुक्तानी समयमा नै पाउनुपर्ने, सहकारी पीडित भएका नागरिकको बचत फिर्ता गरिनुपर्ने, रुसी सेनामा रहेका नेपालीलाई तत्काल नेपाल ल्याउने व्यवस्था मिलाउनुपर्ने, राष्ट्रिय गौरवका आयोजनाहरूलाई गति प्रदान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसदहरुले विभिन्न जिल्लामा आगलागीका घटना बढिरहेको भन्दै पीडितलाई पुनर्स्थापना तथा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, कृत्रिम वर्षा गरि वायु प्रदूषण हटाउनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

बैठकको सुरुमा आकस्मिक समयको माग गर्दै नेपाली कांग्रेसका सांसद बद्री प्रसाद पाण्डेले सहकारी ठगी मुद्दामा आरोप लागेका व्यक्तिलाई गृहमन्त्री नियुक्ति गरिएको आरोप लगाउँदै  प्रधानमन्त्रीको  जवाफका लागि  सभामुखलाई रुलिङ गर्न आग्रह गर्नुभयो । 

सांसद पाण्डेले विनियोजन विधेयकमाथि छलफल जारी रहेकाले यसको गम्भीरतालाई मध्यनजर गर्दै जिम्मेवार प्रतिपक्षको भूमिका  काँग्रेसले निर्वाह गर्ने कुरालाई कमजोर नठान्न चुनौती दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button