तपाईँ सुन्दै हुनुहुन्छः

मधेस प्रदेशमा चौथो पालिकाको रुपमा मलंगवा नगरपालिका साक्षर घोषणा

सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका साक्षर पालिका बनेको छ । सर्लाहीमा पहिलो तथा मधेस प्रदेशमा चौथो पालिकाको रुपमा मलंगवा नगरपालिका आज साक्षर घोषणा भएको हो।

मलंगवा नगरपालिकाको आयोजनामा ‘साक्षर नेपाल, समृद्ध नेपाल र सुखी नेपाली : साक्षर मलंगवावासी, हामी गौरवशाली’ भन्ने मुल नाराका साथ सर्लाहीकै प्रथम साक्षर पालिका मलंगवालाई घोषणा गरिएको छ । मलंगवा नगरपालिकाको १२ वटै वडा ९६.१३ प्रतिशत व्यक्ति साक्षर भएको हुँदा नगर प्रमुख नागेन्द्र प्रसाद यादवले साक्षर मलंगवा नगरपालिका घोषणा गर्नुभयो ।

मलंगवा नगरपालिकाको १२ वटै वडाको १५ देखि ६० वर्ष उमेर समूहका जम्मा ५ हजार ६ सय ३० निरक्षर जनसङ्ख्यामध्ये ५ हजार ४ सय १२ अर्थात् ९६ दशमलव १३ प्रतिशत जनसङ्ख्या साक्षर भएकोले नगरपालिकालाई ‘साक्षर नगरपालिका’ घोषणा गरिएको शिक्षा शाखा प्रमुख प्रमोद मण्डलले जानकारी दिनुभयो ।

कार्यक्रमअन्तर्गत मलंगवालाई साक्षर नगरपालिका घोषणा गर्नमा महत्त्वपूर्ण योगदान पुर्‍याउने शिक्षकहरूलाई सम्मान गरिनुका साथै साक्षर मलंगवा नगरपालिका नामक पुस्तक पनि विमोचन गरिएको मलंगवा नगरपालिकाका सूचना अधिकारी राजकुमार अधिकारीले जानकारी दिनुभयो । नेपाल सरकारको मापदण्ड अनुसार पालिकाभित्र ९५ प्रतिशत नागरिक अनिवार्य लेखपढ गर्नसक्ने हुनुपर्ने व्यवस्था छ ।

कार्यक्रममा सर्लाही क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य एवम् निवर्तमान खानेपानी मन्त्री महिन्द्र राय यादव, प्रदेश सभा सदस्य कौशल किशोर राय, प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, लगायत विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button