तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेल राष्ट्रिय कोटी होममा सहभागी

काभ्रेपलान्चोक । राष्ट्रपति रामचन्द्र पौडेल काभ्रेपलान्चोक जिल्लाको बल्थलीस्थित लड्केश्वर धाममा जारी राष्ट्रिय कोटी होम २०८० कार्यक्रममा सहभागी भई पूजा अर्चना गर्नुका साथै फूलप्रसाद ग्रहण गर्नुभएको छ ।

मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन उद्घाटन गर्न काभ्रे आउनुभएका राष्ट्रपति पौडेल त्यसपछि कोटी होममा सहभागी हुनुभएको हो । राष्ट्रपति पौडेलले केही बेर कोटीहोम स्थलमा बिताउनुभएको थियो ।

उहाँले कोटी होमबाट समाज, देश र जनताको कल्याण होस भन्ने कामना समेत गर्नुभयो ।

ओमकार फाउण्डेशनको आयोजनमा २०८० फाल्गुन २ गतेदेखि लड्केश्वरमा राष्ट्रिय कोटी होम जारी छ ।

स्थानीय महेशराज पौडेलका अनुसार, भक्तपुरका तत्कालीन राजा भुपतेन्द्र मल्लले समेत लड्केश्वर दर्शन गरेको पुरातत्त्व विभागका दस्ताबेजमा उल्लेख छ । पनौती त्रिवेणीधाम दर्शन गर्न आएका मल्लले लड्केश्वर, पलाञ्चोक भगवती र दोलखा भीमसेन दर्शन गरेको उल्लेख छ । सोही आधारमा लड्केश्वरलाई प्राचीन धार्मिक स्थल मानिँदै आएको छ ।

प्रत्येक वर्ष हरिवोधनी एकादशीको दिन लड्केश्वरमा मेला लाग्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button