तपाईँ सुन्दै हुनुहुन्छः

अहिले निर्माण भएको गठबन्धन सरकारले स्थायित्व पाउँछ : मन्त्री भण्डारी  

डडेल्धुरा । उद्योग तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले अहिले निर्माण भएको गठबन्धनको सरकारले स्थायित्व पाउने बताउनुभएको छ । 

आफ्नो गृह निर्वाचन क्षेत्र बैतडी जाने क्रममा आज एमाले डडेल्धुराको पार्टी कार्यालयमा आयोजित स्वागत तथा अभिनन्दन कार्यक्रममा मन्त्री भण्डारीले सरकारको स्थायित्व हुनेमा विश्वस्त रहन आग्रह गर्नुभयो । 

“एमाले, माओवादी, रास्वपा सहितका दलहरूको गठबन्धनमा सरकार निर्माण भएको छ”, उहाँले भन्नुभयो, “यो सरकार चारै बर्ष चल्छ ।”  

सरकारको स्थायित्वका लागि साना दलहरूलाई सरकारमा आउन आग्रह गर्नुहुँदै उहाँले सरकार बनाउने र ढाल्ने खेलका कारण जनतामा नैरश्यता देखिएकाले यो गठबन्धन सरकार गम्भीर बनेको पनि बताउनुभयो । 

उहाँले एमालेले एक महिने मध्यपहाडी लोकमार्ग सङ्कल्प यात्रा सम्पन्न गरेर  सामाजिक, आर्थिक, सांस्कृतिकसँगै चुनौती र सम्भावनाका विषयमा सुझावसहितको बिकास र समृद्धिको खाका निर्माण गरेको र यसलाई पुरा गर्ने अभिभारा समेत अब  आफूहरूको काँधमा आएको बताउनुभयो । 

“आर्थिक तरलताले मुलुकको अर्थतन्त्र निकै कमजोर बनेको छ भन्नुहुँदै मन्त्री भण्डारीले यस्ता चुनौतीको सामना गरेर जनतालाई आर्थिक समृद्धिसहितको सुशासनको प्रत्याभूति दिने गरि सरकार अघि बढ्ने पनि बताउनुभयो । 

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री भण्डारीले सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा हुन लागेका जिल्ला अधिवेशनहरूलाई भव्यरुपमा सम्पन्न गर्दै सुझबुझपूर्ण ढंगले सक्रिय नेतृत्व निर्माणका लागि सबै नेता तथा कार्यकर्ताहरू जुट्न आग्रह समेत गर्नुभयो  । 

नेकपा एमालेको बैतडी जिल्ला अधिवेशन यही फागुन २८ गते एमालेका वरिष्ठ केन्द्रीय उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गर्नुहुने कार्यक्रम रहेकाले त्यसको तयारीका लागि मन्त्री भण्डारी आजै बैतडीतर्फ प्रस्थान गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button