तपाईँ सुन्दै हुनुहुन्छः

भाटभटेनीको २७ औँ स्टोर दमकमा

झापा । पूर्वी नेपालमा आफ्नो बजार विस्तारलाई अघि बढाएको मुलुककै ठुलो चेन सुपर स्टोर भाटभटेनीले झापाको दमकमा २७ औँ स्टोर स्थापना गरी सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । यो स्टोर झापाकै बिर्तामोड पछिको दोस्रो हो । 

झापाको व्यापारिक शहर दमक–९ मा गतवर्ष माघ ४ गते स्टोर शिलान्यास गरेको भाटभटेनीले १३ महिनामै नयाँ स्टोर स्थापना गर्न सफल भएको छ । स्टोर सञ्चालनको तयारीसँगै यहाँको बजार र गतिविधिमा समेत छुट्टै रौनक आउन लागेको स्थानीयहरू बताउँछन् ।

पूर्वको व्यापारिक शहर दमकमा अन्तर्राष्ट्रिय स्तरको सपिङ अनुभव प्रदान गर्ने उद्देश्य सहित स्थापना गरिएको यो स्टोर १४ कट्ठा क्षेत्रफलमा करिब १ लाख १६ हजार स्क्वायरफिट सपिङ स्पेस सहित सञ्चालन आउन लागेको हो । १ अर्ब ५० करोड बढी लगानीमा सञ्चालनमा आउने यो स्टोर झापा जिल्लामा दोस्रो हो भने कोशी प्रदेशको पाँचौँ स्टोर हो । यस अघि झापाको बिर्तामोडसहित कोशी प्रदेशका धरान, विराटनगर तथा इटहरीमा स्टोर सञ्चालनमा आइसकेको छ ।

देशमा व्याप्त आर्थिक मन्दीका कारण व्यापार–व्यवसायमा निराशा छाएको बेला भाटभटेनीको सञ्चालनले पूर्वी नेपालको आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास गरिएको छ । भाटभटेनीको स्थापनाले आर्थिक तथा यश क्षेत्रको पर्यटकीय गतिविधिलाई समेत चलायमान बनाउने भन्दै यहाँका अन्य निजी क्षेत्रहरूसमेत उत्साहित बनेका छन् । उपभोक्तालाई बजार मूल्य भन्दा सस्तो एवम् गुणस्तरीय सामग्री एकै ठाउँबाट उपलब्ध गराइने हुँदा समानको मूल्य र गुणस्तरमा ग्राहक ठगिन नपर्ने भएकाले भाटभटेनी दमक तथा आसपासका उपभोक्ताको सपिङका लागि पहिलो रोजाई बन्ने भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङ बताउनुहुन्छ । भाटभटेनी व्यवसाय मात्र नभै रोजगारी अभियान पनि रहेको र यो स्टोरमा यस क्षेत्रका करिब ३०० स्थानीयले रोजगार प्राप्त गरेको उहाँले बताउनुभयो ।

आफ्नै देशमा केही गर्नुपर्छ भनेर आफ्नो सम्पूर्ण ऊर्जा देशमै लगाएको बताउँदै उहाँले पछिल्लो समय राज्यको व्यवहारले आफूलाई केही मात्रामा हतोत्साहित बनाएको भएतापनी आफू नडगमगाएको र न्याय पाउने विश्वास राखेको समेत बताउनुभयो । स्वदेशी तथा विदेशी ब्रान्डका उच्च गुणस्तरका विभिन्न सामानहरू पाइने यस सुपर स्टोरमा झापा जिल्लासहित आसपासका छिमेकी जिल्लाबाट समेत उपभोक्ताहरू किनमेलका लागि आउने अपेक्षा गरिएको छ । नेपालमै अन्तर्राष्ट्रिय स्तरको सपिङ अनुभव र सेवा प्रदान गर्ने तथा नेपालमै रोजगारीको अवसर सृजना गर्ने उद्देश्यसहित देशभरका ठुला सहरहरूमा भाटभटेनीको स्टोर विस्तार भइरहेको क्षेत्रीय व्यवस्थापक विनोद भट्टराईले बताउनुभयो ।

यही फागुन २३ गतेबाट औपचारिक रुपमा सञ्चालनमा आउने यस सुपर स्टोरको लागि सम्पूर्ण तयारी पूरा भएको भाटभटेनीले जनाएको छ । उद्घाटनका अवसरमा आम ग्राहकहरूलाई प्रत्येक सामानको खरिदमा १० देखि २० प्रतिशतसम्म छुटको व्यवस्था पनि रहेको स्टोरका अपरेसन म्यानेजर पानु पौडेलले बताउनुभयो । यस स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फूट्वेर, फूड्कोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबालिकाका लागि स्केट पार्क लगायतका सुविधाहरू रहने भाटभटेनीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button