तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ गठबन्धन कम्युनिष्ट एकताको आधार बन्ने उपाध्यक्ष सापकोटाको विश्वास

धुलिखेल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पार्टीका बागमती प्रदेश इन्चार्ज अग्निप्रसाद सापकोटाले देशको परिवर्तित राजनीतिक अवस्थाले विगतको बृहत्तर कम्युनिष्ट एकताको प्रयासलाई पूरा गर्ने आधार बनेको बताउनुभएको छ ।

उहाँले सहिद सप्ताहको अन्तिम दिन देशको राजनीतिक अवस्थाले कोल्टे फेरेको र आज बनेको नयाँ गठबन्धनले केही वर्षअघिको बृहत्तर राजनीतिक एकताको प्रयासलाई सार्थक पार्ने आधार बनाउने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का जनवर्गीय सङ्गठन तथा मोर्चाले काभ्रेपलाञ्चोकको बनेपामा आयोजना गरेको ‘सहिद परिवार सम्मान तथा व्यवस्था परिवर्तनमा बलिदानको महत्व’ विषयक छलफलमा उपाध्यक्ष सापकोटाले संविधानको प्रस्तावनामा उल्लेख भएको लोकतान्त्रिक गणतन्त्रात्मक समाजवाद उन्मुख राज्यव्यवस्था निर्माण गर्न नयाँ गठबन्धन ‘कोर्स करेक्सन’ भएको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटीका अध्यक्ष एवं प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले आफन्तजनहरू गुमाएर अहिलेको व्यवस्था प्राप्त गरेको उल्लेख गर्दै सहिद परिवारलाई विचलित नहुन आग्रह गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का काभ्रे जिल्ला संयोजक भोला अर्यालले सहिदको सपना पूरा गर्नेभन्दा पनि आफ्नो सपना पूरा गर्नेतर्फ नेताहरू लागेका आरोप लगाउनुभयो ।

सहिद परिवारका सदस्य राजकुमार तामाङले अहिलेको परिवर्तन सहिदहरूको बलिदानीबाट भएको बताउँदै सहिद परिवारको भावनालाई सम्बोधन गर्न आग्रह गर्नुभयो ।

माओवादी केन्द्रले हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाउँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button