तपाईँ सुन्दै हुनुहुन्छः

एकीकृत समाजवादीले नयाँ गठबन्धनलाई गुण र दोषका आधारमा सहयोग गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले नयाँ गठबन्धनको गुण र दोषका आधारमा सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको सचिवालय बैठकले सरकारको उद्देश्य, प्रक्रिया र संरचना प्रस्ट भएपछि पार्टी सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्ने निर्णय गरेको पार्टी कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले मुलुकमा अर्को राजनीतिक समीकरण निर्माण भएको विश्लेषण गर्दै बैठकले गठबन्धन फेरिएपछिको अवस्थामा पार्टीको धारणा प्रस्ट गरेको हो ।

वामपन्थी ध्रुवीकरणको सम्भावना, समाजवादी मोर्चा लगायत विषयमा विस्तृत छलफल गरिएको बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीले सरकारमा रहँदा गरेका कार्यको समीक्षा गरिएको थियो ।

कार्यालय सचिव श्रेष्ठका अनुसार सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले एकीकृत समाजवादीलाई सरकारमा सहभागिताका लागि गरेको आग्रहलाई सकारात्मक रूपमा लिन केही नेताहरूले सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button