तपाईँ सुन्दै हुनुहुन्छः

देश र जनताका हितका लागि क्रान्तिकारी कम्युनिस्टबीच एकता हुनैपर्छ : प्रधानमन्त्री

सहिद प्रतिष्ठान नेपालद्वारा सोमबार काठमाडौँमा आयोजित शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक विचार गोष्ठीमा मन्तव्य राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको हितका लागि क्रान्तिकारी कम्युनिस्टबीच एकता हुनैपर्ने बताउनुभएको छ । 

सहिदको सपना पूरा गर्न पनि क्रान्तिकारी शक्तिबिच एकता, सहकार्य जरुरी रहेको उल्लेख गर्दै उहाँले सहिदहरूको सपना पूरा गर्नका लागि पनि एक ठाउँमा आउनैपर्नेमा जोड दिनुभयो । 

सहिद प्रतिष्ठान नेपालले आज यहाँ आयोजना गरेको शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति विषयक अन्तरक्रियामा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले क्रान्तिकारी एक ठाउँमा केन्द्रित हुन जरुरी रहेको बताउनुभयो । सहिदको सपना पूरा गर्ने लक्ष्यका साथ समाजवादी मोर्चा मात्रै नभएर बृहत्तर कम्युनिस्ट एकताको पहल भइरहेको उहाँको भनाइ थियो । 

माओवादी सिद्धान्त र व्यवहारका हिसाबले जमेको पोखरी नभई गडगडाउँदो नदी भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “माओवादी  निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन । नयाँ–नयाँ परिस्थिति सिर्जना गर्ने जात हो माओवादी । सहिद सप्ताहको अन्तिम दिन निरन्तरतामा क्रमभङ्गता भएको छ ।” 

प्रधानमन्त्री दाहालले आजको दिनलाई विशेष दिनका रुपमा रहेको टिप्पणी गर्नुभयो । “नयाँ उथलपुथल भएको दिन पनि बन्यो । यो ठूलो कुरा हो । क्रान्तिकारी एक हुने अवस्था छ र बृहत्तर कम्युनिस्ट एकताको पहल पनि भइरहेको छ”, प्रधानमन्त्रीले भन्नुभयो । 

उहाँले आफूहरूलाई घेरा हालेर सिद्ध्याउने कोशिस भएपनि त्यसलाई तोड्दै आएको उल्लेख गर्नुभयो । उहाँले आफ्नै नेतृत्वमा जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गरेको र बाँकी रहेकालाई समेत छिट्टै घोषणा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

शान्ति प्रक्रियाको कामलाई टुङ्गो लगाएर सहिद तथा बेपत्ता परिवारलाई परिपूरण, रोजगारीलगायतका विषयलाई सम्बोधन गरिने प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्रीले माओवादी नेतृत्वको सरकारले जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गरेको र जनयुद्ध दिवसमा राष्ट्रिय बिदा दिएको विषयलाई खुलेर प्रशंसा गर्न कन्जुस्याइँ गरेकामा पूर्वमाओवादी घटकप्रति असन्तुष्टि जनाउनुभयो । “ठूला कुरा गर्नुभन्दा हामी क्रान्तिकारीहरू एक ठाउँमा उभिने बाटो खोजौँ त्यसमा नै हामी सबैको भलाइ छ”, प्रधानमन्त्रीले भन्नुभयो । 

काठमाडौँ, २१ फागुन : प्रम दाहाल-मन्तव्य प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहिद प्रतिष्ठान नेपालद्वारा सोमबार काठमाडौँमा आयोजित शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक विचार गोष्ठीमा मन्तव्य राख्दै । तस्बिर : रत्न श्रेष्ठ/रासस

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनयुद्ध जनआन्दोलनको जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको तथ्य पेश गर्दै जनयुद्धलाई नकार्ने प्रवृत्तिविरुद्ध सङ्घर्ष जरुरी रहेको बताउनुभयो । देशलाई समृद्ध बनाउने लक्ष्यका साथ आफूहरू नयाँ जिम्मेवारी लिन तयार रहेको उहाँको भनाइ छ । 

सहिद प्रतिष्ठान नेपालका अध्यक्ष धर्मशिला चापागाईँको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य जनक शाह र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलालगायतले सहिदको सपना पूरा गर्नुपर्ने बताउनुभयो । 

फागुन १४ देखि २१ गतेसम्मलाई सहिद सप्ताहका रुपमा मनाइँदै आइएको छ । झापा विद्रोहदेखि जनयुद्धसम्मलाई जोडेर माओवादीले सहिद सप्ताह मनाउने गरेको हो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button