तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा विद्यालयका बस सञ्चालनमा कडाई 

जनकपुरधाम । एक महिनाको अवधिमा तीन वटा विद्यालयको बस दुर्घटनामा परेपछि विद्यालयको बस सञ्चालनमा आज देखि कडाई गरिइएको छ । 

जनकपुरधामको एन्जल्स वोडिङ्ग स्कुलको बसको ठक्करले जनकपुरधाममा आइतबार दुई जनाको मृत्यु र ६ जना घाइते भएको घटनापछि विद्यालय बसको सञ्चालनमा प्रहरीले कडाई गरेर चेकजाँच गर्न थालेको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले आज नीजि विद्यालयहरूको हकहितमा काम गर्ने प्याब्सन तथा एन प्याब्सन धनुषाका पदाधिकारीहरूलाई बोलाएर ट्राफिक नियमको पूर्ण पालना गर्न र सवारी साधनलाई कन्डिसनमा राख्नका लागि आग्रह गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक शेखर कुमार साहले विद्यालयका सञ्चालकहरूलाई बोलाएर यातायात कानून अनुसार बस सञ्चालन गर्न, विद्यालय बसको गति नियन्त्रणमा राख्न, सिट भन्दा बढी विद्यार्थी नराख्न, ब्लुबुक तथा लाइसेन्स अनिवार्य रुपमा चालकलाई बोक्न लगाउनका लागि आग्रह गर्नु भएको छ । 

यसका साथै विद्यालय बसका लागि छुट्टै स्टेण्ड राख्नका लागि उपमहानगरपालिका तथा अन्य स्थानीय तहसँग सहकार्य गरेर राख्ने विषयमा पनि सहमति भएको छ । विद्यार्थीलाई गन्तव्यमा पुर्‍याएर चालकले मादक पदार्थ सेवन गरेर विद्यालयका बस सञ्चालन गर्न नपाइने सहमति भएको छ । 

निकट भविष्यमा नै विद्यालयहरूका बसका चालक तथा सहचालकहरूलाई पोसाकको व्यवस्था गर्ने विषयमा छलफल भएको प्रहरी निरीक्षक साहले जानकारी दिनु भयो । यसका साथै निकट भविष्यमा नै विद्यालयका चालक तथा सहचालकहरूलाई बस सञ्चालन गर्ने विषयमा थप प्रशिक्षण दिने भएको छ । 

खास गरेर विद्यालयको समयका कारणले विद्यालयका बसका चालकहरूले अत्यधिक गतिमा बस चलाउने गरेका छन् । जनकपुरधाममा रहेका नीजि तथा सरकारी विद्यालयहरूको करिब पाँच दर्जन भन्दा बढी बसहरू सञ्चालनमा रहेको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button