तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटनामा एकको मृत्यु, १५ घाइते

धनकुटा । धनकुटाको पाख्रिबासमा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । 

धनकुटाको हिलेबाट चुम्बाङ जाँदै गरेको को २ च १६१९ नम्बरको पिकअप भ्यान पाख्रिबास नगरपालिका वडा नं. १० चुम्वाङमा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको हो। मृत्यु भएका ११ वर्षिया बालकको पहिचान नखुलेको धनकुटा अस्पतालले जनाएको छ। यस्तै धनकुटा अस्पतालका अनुसार पाख्रिबासका २२ वर्षीय रविका राई र काठमाडौँका ४० वर्षीय सानु आलेलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । 

यस्तै धनकुटा नगरपालिका वडा नं. ४ का ३६ वर्षीय देवि खत्री, १० वर्षिया अजित खत्री, ३६ वर्षीय देविका खत्री, ४७ वर्षिया सुनिता खत्री, पाख्रिबास नगरपालिका वडा नं. १० का लक्ष्मी राईको धनकुटा अस्पतालमा उपचार भइरहेको छ। अन्य ८ जनाको स्थानीय प्राथमिक अस्पतालमा उपचार गरि थप उपचारका लागि धनकुटा अस्पताल ल्याइँदै गरेको धनकुटाका डिएसपी राजबाबु महर्जनले जानकारी दिनुभयो ।

पिकअप सडकबाट करिब ४० मिटर तल खसेर दुर्घटना भएको हो । ढुवानीका लागि प्रयोग हुने पिकअपले धनकुटाका ग्रामीण भेगमा मानिस बोक्ने गरेका छन्। पिकअपको डालोमा मानिस बोक्दा सम्बन्धित निकाय मुखदर्शक बनेको स्थानीयको आरोप छ । सवारी चालक राममणि राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button