तपाईँ सुन्दै हुनुहुन्छः

दङाली लायन्सलाई दाङ क्रिकेट लिग सिजन-२ को उपाधि

दाङ । दाङमा सम्पन्न नेपाल टेलिकम दाङ क्रिकेट लिगको दोस्रो सिजनको उपाधि दङाली लायन्सले जितेको छ। दाङ क्रिकेट सङ्घद्वारा आयोजित लिगको फाइनलमा दङालीले तुलसीपुर रोयल्सलाई ४५ रनले पराजित गर्‍यो।

घोराही क्रिकेट रङ्गशालामा सम्पन्न फाइनलमा दङाली लायन्सले दिएको १०८ रनको लक्ष्य तुलसीपुरले १६ ओभरमा सबै विकेट गुमाएर ६२ रन मात्र बनाउन सक्यो।

तुलसीपुर रोयल्सको ब्याटिङमा रुपेश सिंहले २० तथा अमर सिंह रौटेलाले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

दङाली लायन्सका बलर बसिर अहमदले सर्वाधिक ३ विकेट लिए। प्लेयर अफ द म्याच समेत घोषित बसिरले ४ ओभरमा मात्र १३ रन खर्चिए। यस्तै विपिन खत्री, वीर बहादुर घर्ती मगर, प्रकाश जैसीले समान २ विकेट तथा शङ्कर रानाले १ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको दङाली लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०७ रन बनायो।

दङालीको लागि कप्तान विपिन खत्रीले सर्वाधिक ४५ रन बनाए जुन क्रममा उनले ३८ बलमा २ चौका र ३ छक्का प्रहार गरे। बसिर अहमदले २४ तथा अंकित बुढाले ११ रन बनाए।

बलिङतर्फ तुलसीपुर रोयल्सका अमर सिंह रौटेलाले सर्वाधिक ३ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा २३ रन खर्चिए। रुपेश सिंह, भुवन कार्की, दिवान पुन र नवीन बिकले १र१ विकेट लिए।

उपाधिसहित विजेता दङाली लायन्सले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्‍यो। उपविजेता तुलसीपुर रोयल्सले १ लाख रुपैयाँ पायो।

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द सिरिज विजेता टिम दङाली लायन्सका बसिर अहमद घोषित भए। यस्तै प्रतियोगिताको उत्कृष्ट ब्याटर दङाली लायन्सका सन्तोष कार्की, उत्कृष्ट बलर पुरनधारा च्यालेन्जर्सका दिपेन्द्र रावत तथा उदयमान खेलाडी देउखुरी वारियर्सका शुभम् खनाल घोषित भए। प्लेयर अफ द सिरिजले १५ हजार रुपैयाँ प्राप्त गर्दा उत्कृष्ट ब्याटर, बलर तथा उदयमान खेलाडीले समान १०र१० हजार रुपैयाँ प्राप्त गरे। फाइनल खेलका प्लेयर अफ द म्याच घोषित बसिर अहमदले ५ हजार रुपैयाँ पाए।

दाङ क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगितामा पाँच वटा फ़्रेन्चाइज् टिमको सहभागिता रहेको थियो। प्रतियोगिताको खेलाडी छनोट अक्सनमार्फत गरिएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button