तपाईँ सुन्दै हुनुहुन्छः

उद्घाटनमै सीमित नेपालगन्जस्थित एकीकृत भन्सार जाँच चौकी

बाँके । नेपालगन्जस्थित एकीकृत भन्सार जाँच चौकी (आइसिपी) उद्घाटनमै सीमित भएको छ । उद्घाटनको नौ महिना पुगिसक्दा समेत सञ्चालनमा आउन सकेको छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २० जेठ ०८० मा भारतको दिल्लीबाट संयुक्त रूपमा उद्घाटन गरेको आइसिपी अझै सञ्चालनमा आउन सकेको छैन । उद्घाटनका वेला दुई देशका मालवाहक गाडी वारपार गराइयो ।

दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेपछि दुवै देशले आ–आफ्नो क्षेत्रमा औपचारिक कार्यक्रम गरेर आइसिपी छिट्टै नियमित सञ्चालन गर्ने उद्घोषसमेत गर्नुभएको थियो।

आइसिपी सञ्चालनमा आउने भएपछि उद्योगी व्यवसायी मात्र नभई सर्वसाधारणले समेत खुसीयाली मनाए । तर, उद्घाटन भएको नौ महिना बित्दासमेत सञ्चालन अनिश्चित भएको छ ।

 आइसिपी सञ्चालन कहिलेदेखि हुन्छ भन्ने निश्चित नभएको भवन डिभिजन कार्यालय नेपालगन्जका प्रमुख विजयकेशर खनालले बताउनुभयो ।उहाँले आइसिपीभित्र निर्माण भएका भौतिक संरचना हस्तान्तरणको कामसमेत हुन नसकेको बताउनुभयो । आइसिपी नेपालगन्ज र भारतको रुपइडियामा अवस्थित छ ।

नेपालतिर ८७ बिघामा फैलिएको आइसीपीमा पार्किङ, गोदाम, भन्सार, प्रशासनिक भवन, क्वारेन्टिन भवन, नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यालय, बैङ्क, भन्सार एजेन्ट, नापतौल तथा गुणस्तर, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायतका लागि पूर्वाधार निर्माण भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button