नेदरल्यान्ड्सले नेपाललाई दियो एक सय २१ रनको लक्ष्य
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2024/03/430886506_818769496946099_7026676776832806828_n-1024x683.jpg)
काठमाडौँ । राजधानीमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई जितका लागि एक सय २१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको नेदरल्यान्ड्सले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै एक सय २० को योगफल बनाएको हो ।
नेदरल्यान्ड्सका लागि म्याक्स ओडोउडले २४ बलमा चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ३१ रनको योगदान दिए । यसैगरी, टिम भान डेर गुग्टेनले २४ रन जोड्दा रोलोफ भान डेर मार्वीले अविजित २३ तथा कप्तान स्कट एड्वार्डसले १८ रन बनाए ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2024/03/429819974_818769406946108_1096024708218956095_n-1024x683.jpg)
नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिए भने करण केसी र कुशल मल्लले समान दुई–दुई विकेट लिए । त्यसैगरी, दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।
प्रतियोगितामा शीर्ष दुईमा रहँदै फाइनल खेल्नका लागि पनि नेपालाई आजको खेल जित्नुपर्ने हुन्छ ।
नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । यसैगरी, तेस्रो खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको थियो । रासस
प्रतिक्रिया राख्नुहोस्