तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेका बाल सुधार गृहलाई उपकरण तथा खेल सामग्री हस्तान्तरण

बाँके । केन्द्रीय बाल न्यायिक समितिको सचिवालयले बाँकेमा रहेका दुई बाल सुधार गृहलाई विभिन्न प्रकारका जिन्सी उपकरण तथा खेल सामाग्री हस्तान्तरण गरेको छ ।

सचिवालयले बाँकेको डुडुवामा रहेको जयन्दु बाल सुधार गृह र बैजनाथको नौबस्तामा रहेको बाल सुधार गृहमा रहेका बालविज्याईकर्ता (बालबन्दी)हरुको वृत्ति विकासको लागि खेलकुदका सामग्री, कम्प्युटर, ल्यापटप, टेलिभिजन, कुलरलगायतका उपकरण सामग्री हस्तान्तरण गरेको हो ।

दुवै बाल सुधार गृहमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी युनिसेफ नेपालको सहयोगमा विभिन्न खालका उपकरण तथा टिपिओ नेपालको सहयोगमा खेल सामग्री हस्तान्तरण गरिएको सर्वोच्च अदालतका रजिष्टार तथा केन्द्रीय बाल न्यायिक समितिका सदस्य सचिव नारायणप्रसाद पन्थीले जानकारी दिनुभयो ।

उहाँले बाल सुधारमा रहने बालविज्याईकर्ता (बालबन्दी)हरुको उमेरमा हेरफेर भएको बताउँदै पहिला १६ वर्षको मानिएकोमा हाल १८ वर्षको बनाइएको जानकारी दिनुभयो । उहाँले बाल सुधार केन्द्रको व्यवस्थापनको मोडल पनि समयानुकूल परिवर्तन गर्दै लैजानुपर्ने सुझाव समेत आएकोले त्यसतर्फ मनन गरिने बताउनुभयो।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बालविज्याईकर्ता (बालबन्दी)हरूका लागि निर्माण गरिएको सुधार केन्द्रलाई समयानुकूल परिमार्जित गरिनुपर्नेमा जोड दिँदै सुधार केन्द्र कारागार शैलीका भएको बताउनुभयो। 

उहाँले यहाँ आउने बालविज्याईकर्ताहरुलाई ज्ञान सिप र आनीबानी सुधार गरेर समुदायमा पठाउने बेलामा कतै व्यवस्थापन भएको कमजोरीका कारण उनीहरूको व्यवहार झन बिग्रँदै जाने पो हो की भन्ने चिन्ताले आफूलाई सताएको बताउनुभयो ।

यस्तै केन्द्रीय बाल न्याय समितिको सचिवालयका उपसचिव अनुपमा पन्तले बाल न्याय समितिको परिचय र कामका बारेमा जानकारी गराउनुभयो ।

जिल्ला अदालत बाँकेका न्यायाधीश बालकृष्ण वाग्लेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जयन्दु वाल सुधार केन्द्रको तर्फबाट बिमला काउचा र बाल सुधार केन्द्र नौवस्ताको तर्फबाट श्याम रानाले बाल सुधार गृहमा रहेका विविध समस्याका बारेमा जानकारी समेत गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button