तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल विश्वविद्यालय विधेयकमाथि सैद्धान्तिक छलफल सुरु

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले युवाहरूलाई नेपालमै रोजगारी दिनसक्ने विश्वविद्यालय मात्रै आवश्यकता रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज सिंहदरबारमा बसेको बैठकमा नेपाल विश्वविद्यालय विधेयकमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरुले नेपालको उच्च शिक्षामाथि विश्वास नभएको भन्दै विदेश पढ्न गएकाहरूलाई समेत स्वदेश फर्काउन सक्ने पाठ्यक्रम लागु गर्ने गरी विश्वविद्यालय स्थापना गरिनुपर्नेमा जोड दिनुभयो ।

सांसदहरु छविलाल विश्वकर्मा, बद्री पाण्डे, रघुजी पन्त, देवेन्द्र पौडेल, सुमना श्रेष्ठ, डाक्टर तोषिमा कार्की लगायतले गैरसरकारी लगानीमा सञ्चालन गर्न लागिएको विश्वविद्यालयमा विज्ञ व्यक्तिहरू कुलपति चुनिनुपर्ने, सीपमूलक विषय लागु गरिनुपर्ने, राजनीतिक दलको राजनीति गर्ने थलो बनाइन नहुने विचार व्यक्त गर्नुभयो ।

बैठकमा शिक्षाविद्हरू डाक्टर बालचन्द्र लुइँटेल, सुशन आचार्य, प्रमोद भट्टराई लगायतले भइरहेका विश्वविद्यालयभन्दा फरक र विश्वमा पहिचान दिन सक्ने गरी नेपाल विश्वविद्यालयले कार्यक्रम सञ्चालन गरिनुपर्ने बताउनुभयो ।

बैठकमा नेपाल विश्वविद्यालय पूर्वाधार विकास समितिका अध्यक्ष डाक्टर अर्जुन कार्कीले नेपाल विश्वविद्यालय विश्वका उत्कृष्ट विश्वविद्यालयकै मोडलमा सञ्चालन हुने गरी विधेयक ल्याइएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button