तपाईँ सुन्दै हुनुहुन्छः

गायक तथा सङ्गीतकार भक्तराज आचार्यको ८२ वर्षको उमेरमा निधन

काठमाडौँ । गायक तथा सङ्गीतकार भक्तराज आचार्यको ८२ वर्षको उमेरमा निधन भएको छ । 

लामो समयदेखि अल्जाइमरबाट पीडित आचार्यको साेमबार ललितपुर स्थित मेडिसिटी अस्पतालमा उपचारको लागि लैजाने क्रममा निधन भएको गायक तथा सङ्गीतकार टिका प्रसाद भण्डारीले जानकारी दिनुभएको छ ।

भजन शिरोमणिका रुपमा चिनिनुहुने गायक तथा सङ्गीतकार आचार्यले मुटु जलिरहेछ, हजार सपनाको माया लागेर आउँछ , माया मेरी साँझ बनी डोली चढी आउँछिन् जस्ता कालजयी गीतहरू गाउनु भएको छ । भक्तराज आचार्यको जन्म विक्रम सम्वत १९९९ असोजमा भएको थियो ।

आचार्य नेपालीमा सर्वकालिक महान् गायक  गायक र सङ्गीतकार हुनुहुन्थ्यो ।  नेपालको धनकुटामा जन्मिनुभएका उहाँ भारतको कालिम्पोङमा हुर्कनु भएको थियो ।  सन् १९७० को दशकमा दार्जिलिङका गायकहरू नेपाल आउने क्रममा उहाँ नेपाल आउनुभएको थियो । सन् १९७३ मा रेडियो नेपालले आयोजना गरेको अखिल नेपाल गीत प्रतियोगितामा स्वर्ण पदक जितेपछि आचार्यको गायन यात्रा सुरु भएको थियो। उहाँले  ४५० वटा गीत रेकर्ड गर्नुभएको थियो भने २५–३० वटा गीत रचना गर्नुभएको थियो । प्रतियोगितामा प्रथम भएपछि आचार्य रेडियो नेपालमा जागिरे हुनुभएको थियो।

रेडियो नेपालका पूर्वकर्मचारीसमेत रहनुभएका स्वर्गीय आचार्यप्रति रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपाल परिवारकातर्फबाट शोक व्यक्त गर्नुहुँदै मृतक आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै शोक सन्तप्त परिवारजनप्रति भावपूर्ण समवेदना प्रकट गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button