तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर कलेज क्रिकेट प्रतियोगिता फागुन १९ गतेबाट  

जनकपुरधाम । जनकपुरधाममा फागुन १९ गते देखि दोस्रो अन्तर कलेज स्तरीय टि–२० क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ । 

खेलको फाइनल चैत्र १० गते हुने पनि आयोजकले जानकारी दिएको छ । क्रिकेट खेलको विकासका लागि विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न भएको एक सातापछि कलेज स्तरीय क्रिकेट प्रतियोगिता हुन लागेको हो । 

कूल १६ वटा टिमको सहभागिता रहने सो प्रतियोगिता लिग चरणको  आधारमा खेलाउने आज जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक अम्बु प्रसाद साहले जानकारी दिनुभयो । 

जनकपुरधामको १२ विघा रंगभूमि मैदानमा हुने सो प्रतियोगिता १५ वर्षभन्दा माथि २३ वर्ष मुनिका खेलाडीहरू सहभागी रहने छन् । 

जनकपुर स्पोर्टस क्लब तथा न्यू भिजन नेपालको आयोजनामा हुने प्रतियोगिताले क्रिकेट खेलको विकासमा थप मद्दत पुग्ने विश्वास आयोजकको छ । प्रतियोगितामा छनौट चरण, क्वाटर सेमिफाइनल तथा फाइनल गरेर चार चरणमा प्रतियोगिता गराइने भएको पनि आयोजकले जनाएको छ । 

यस प्रतियोगिता लगतै क्लब तथा जिल्ला स्तरीय प्रतियोगिता गरेर क्रिकेटको नयाँ खेलाडीको पहिचान गरेर उनीहरूको थप क्षमताको विकास गर्ने लक्ष्य रहेको प्रतियोगिताका संयोजक साहले जानकारी दिनुभयो । 

मधेश प्रदेश क्रिकेटका कप्तान हरिशंकर साहले यस्ता प्रकारको प्रतियोगिताले खेलको विकासमा मद्दत पुग्ने बताउनुभयो । उहाँले यस्ता प्रकारको प्रतियोगिताहरू निरन्तर रुपमा भएको खण्डमा खेलको विकासमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button