तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशका साँढे दुई लाख बालबालिकालाई दादुरा तथा रुबेला खोप लगाउन सुरु

पोखरा । दादुरा तथा रुबेला खोप अभियान अन्तर्गत गण्डकी प्रदेशका २ लाख ५३ हजार ३५ जना बालबालिकाहरूलाई खोप लगाउन सुरु भएको छ । आज (आइतबार) देखि हिमालपारिका २ जिल्ला मनाङ र मुस्ताङ बाहेक गण्डकी प्रदेशका ९ जिल्लामा दादुरा तथा रुबेला खोप लगाउन सुरु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

उक्त अभियान सफल पार्न प्रदेशमा २ हजार ८ सय ८९ वटा खोप सेसन हुँदै छ भने २ हजार ८ सय ८९ जना स्वास्थ्यकर्मी खटिएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक हेमन्त शर्मा पौडेलले बताउनु भयो । उक्त अभियानलाई सफल पार्न ५ हजार ७ सय ७८ स्वयं सेवक परिचालित हुनु भएको छ । चैत ७ गते भित्र उक्त सङ्ख्याका बालबालिकाहरूलाई दादुरा तथा रुबेला खोप लगाइने अभियान सुरु भएको निर्देशनालयले जनाएको छ । 

समुदायमा रहेका लक्षित समूहको कुनै पनि बालबालिकाहरू यो खोप बाट वञ्चित नहुन् भनी बढी सजगता अपनाइएको वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक पौडेलले जनाउनु भयो । मनाङ र मुस्ताङमा फागुनको अन्तिम साता देखि चैतको पहिलो सातासम्म उक्त खोप अभियान सञ्चालन हुने भएको हो । 

गण्डकी प्रदेशमा १० जिल्लाहरूमा दादुरा रुबेला खोप अभियानमा ९ महिना पुरा गरेका र ५ वर्ष भित्र उमेर समूहका सबै बालबालिकाहरूलाई दादुरा रुबेलाको खोप र नियमित खोप लगाउन छुट भएका ५ वर्ष मुनिका बालबालिकाहरूलाई छुट खोपको मात्रा समेत प्रदान गर्ने व्यवस्था मिलाइएको उहाँले उल्लेख गर्नु भयो । नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्लामा यस अभियानमा ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरूलाई यो खोप प्रदान गर्ने कार्यक्रम रहेको निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक पौडेलले बताउनु भयो । नेपालको खुल्ला सिमाना, धेरै मानिसहरूको बसोबास र चहलपहल भएकोले उक्त रोग सङ्क्रमणको उच्च जोखिम रहेकोले १५ वर्ष उमेर समूहका किशोरकिशोरीहरुमा उक्त खोल लगाउन लागिएको उहाँले जनाउनु भयो । 

विगत ४५ वर्ष देखि दादुराको खोप र बिगत १२ वर्ष देखि रुबेला समेत संयुक्त रुपमा दादुरा रुबेलाको खोप नेपाल भित्रका १६ हजार भन्दा बढी खोप केन्द्रबाट दिँदै आइएको छ र सन २००४ देखि हाल सम्म हरेक ४÷४ वर्षमा अभियानको रुपमा पनि यो खोप लगाइँदै आइरहेको छ । कहिलेकाहीँ नेपालमा दादुराको महामारी फैलिने गरेकोले, यस प्रकारको खोप अभियान अझै बढी प्रभावकारी ढंगले गर्नुपर्ने टड्कारो आवश्यकता रहेको विज्ञहरू बताउनुहुन्छ । 

यस वर्षमा समेत नेपालका कुल १८ जिल्लाहरूमा २० बटा महामारी फैलिई करिब १ हजार ३ सय जना उक्त रोगबाट प्रभावित हुन पुगेका छन् । गण्डकी प्रदेश समेत यस महामारीबाट अछुतो रहन सकेन । हालै मात्र तनहुँको शुक्लागण्डकी नगरपालिकामा दादुरा रुबेलाको महामारी देखा परेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button