तपाईँ सुन्दै हुनुहुन्छः

सात महिनामा कर्णालीमा एक हजार भ्रष्टाचारका उजुरी

जुम्ला । सङ्घीयतापछि भ्रष्टाचारका मुद्दा बढ्दै गएका छन् । आर्थिक अधिकार स्थानीय तहमा गएपछि विकास निर्माणदेखि विभिन्न माध्यमबाट भ्रष्टाचार हुने गरेको छ । जसका कारण अख्तियारमा भ्रष्टाचारका उजुरी समेत बढ्दै गएका छन् । एकातिर जनता सचेत हुनु र अर्को तिर भ्रष्टाचार मौलाउन थालेपछि अख्तियारमा उजुरी दिनेको सख्या बढेको देखिन्छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको तथ्याङ्क अनुसार चालु आवको सात महिनामा मात्रै एक हजार ६५ वटा भ्रष्टाचारका उजुरी परेका छन् । चालु आवको माघ मसान्तसम्म कर्णालीका १० वटै जिल्लाबाट गरी एक हजार ६५ वटा उजुरी दर्ता भएको आयोगका सूचना अधिकारी रत्नचन्द्र गौतमले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘पछिल्लो समय स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै आउने गरेका छन् । अनियमितता विरुद्ध नागरिक बोल्न थालेका छन् । उजुरीको सङ्ख्याले चेतना सँगै भ्रष्टाचार पनि बढेको देखिन्छ ।

आयोगको तथ्याङ्क अनुसार चालु आवको सात महिनामा सबैभन्दा बढी सुर्खेतका २३७ उजुरी परेका छन् । भने रुकुम पश्चिमका ८६, दैलेखका १७७, डोल्पा ८८, सल्यानका ७६, जाजरकोटका ७१, जुम्लाका ११७, कालिकोटका ७८, मुगुका ९७ र हुम्लाका ७८ वटा गरी एक हजार ६५ वटा उजुरी परेका छन् । 

सङ्घीयतापछि टाँठाबाठाले मात्रै विकासका नाममा अनुचित लाभ लिएको, गुणस्तरहिन विकास भएको,समयमै काम नभएको जस्ता गुनासो सहित उजुरी विभिन्न माध्यमबाट आउने गरेको सूचना अधिकारी गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button