तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेशमा ८ लाख ९३ हजार बढी बालबालिकालाई दादुरा–रुवेलाको खोप लगाइँदै

विराटनगर । दादुरा–रुवेला निवारणका लागि आजदेखि कोशी प्रदेशमा खोप अभियान शुरु भएको छ   । दक्षिणपूर्वी एशियाबाट सन् २०२६ सम्ममा दादुरा–रूवेला निवारण गर्ने लक्ष्य अनुसार राष्ट्रव्यापी अभियान अन्तर्गत कोशी प्रदेशमा अभियान शुरु भएको हो ।

विराटनगर–१५ स्थित जन–विकास उच्च माविमा आज आयोजित एक कार्यक्रमका बीच कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदीपकुमार सुनुवारले अभियानको शुभारम्भ गर्नुभयो । महिला स्वास्थ्य स्वयंसेविकालाई खोप सामाग्री हस्तान्तरण गर्नुहुँदै मन्त्री सुनुवारले अभियानको शुभारम्भ गर्नु भएको थियो । 

राष्ट्रिय अभियान आजदेखि देखि चैत ७ गतेसम्म भएपनि कोशी प्रदेशमा चैत ३ गते भित्रमा लक्षित जनसङ्ख्यालाई खोप लगाइसक्ने जनाइएको छ ।

अभियान शुभारम्भ कार्यक्रममा  मन्त्री सुनुवारले नेपाल सरकारले लिएको लक्ष्य प्राप्तिका लागि अभियान सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । दादुरा रुवेलाको जोखिम सबैभन्दा बढी बालबालिका हुने गरेकाले खोप अभियानमा उच्च मनोबलका साथ लाग्न स्वास्थ्यकर्मीलाई उहाँले आग्रह गर्नुभयो ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकोटाले यो खोपले बालबालिकाको भविष्य निर्धारण गर्ने भएकाले खोप लगाउन कुनै पनि बालबालिका छुट्न नहुने बताउनुभयो । 

प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले  अभियान अन्तर्गत कोशी प्रदेशका ९ महिना देखि १५ वर्ष सम्मका ८ लाख ९३ हजार ९३४ जनालाई खोप लगाइने लक्ष्य रहेको  बताउनुभयो ।

आज देखि प्रदेशका भोजपुर, तेहृथुम, मोरङ र उदयपुरमा अभियानको शुभारम्भ  भएको छ । अन्य १० जिल्लाले फागुन १६ देखि २७ गते सम्ममा अभियान शुरुगरि चैत ३ गते भित्रमा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

स्वास्थ्य निर्देशनालयका निर्देशक बस्नेतले कोशी प्रदेशमा ९ महिना देखि ५९ महिना सम्मको जनसङ्ख्या ३ लाख ६४ हजार ७०६ र ५ वर्ष देखि १५ वर्षको जनसङ्ख्या ५ लाख २९ हजार २२८ रहेको सो अवसरमा जानकारी गराउनुभयो ।

लक्षित जनसङ्ख्याको सबैभन्दा बढी झापा, मोरङ र सुनसरीमा खोप लगाउनुपर्ने  देखिन्छ । मोरङका लक्षित जनसङ्ख्याको ३१ प्रतिशत, झापा र सुनसरीमा २६–२६ प्रतिशत रहेको छ । 

खोप सञ्चालनका लागि प्रदेशभरका ८ हजार ३६६ खोप केन्द्रमा १२ हजार ६१८ स्वास्थ्यकर्मी परिचालन गरिएको छ । कोशी प्रदेशमा  विद्यालयलाई लक्षित गर्दै खोप केन्द्र सञ्चालनमा ल्याइएको छ ।

विद्यालय बाहिर रहेका बालबालिकाले पनि विद्यालयमा रहेको खोप केन्द्रमा खोप लगाउने गरि व्यवस्था मिलाएको छ ।

अभियान सञ्चालन भएपनि गत वर्ष मोरङ र सुनसरी जिल्लामा ८४ जनामा दादरा रुवेला देखिएको थियो । यो वर्ष मोरङको सुनवर्सी नगरपालिका र जहदा गाउँपालिकामा दादुरा रुवेला देखिएकोको छ ।

यसअघि नेपालले सन् २०१९ र पछि सन् २०२३ मा निवारणको लक्ष्य लिएपनि त्यो सम्भव नभएपछि नेपाल सरकारले सन् २०२६ लाई निर्धारण गरेको हो ।

सन् २०२२ – २०२३ मा नेपालको धेरै जिल्लाहरूमा दादुरा रुबेलाका बिरामी देखा परि महामारी फैलिएपछि २०२६ लाई लक्ष्य निर्धारण गरिएको हो ।

दादुरा रूबेला निवारणका लागि दादुरा खोपको दुवै (पहिलो र दोस्रो ) मात्राको प्रगति सबै तहमा ९५ प्रतिशत भन्दा धेरै भएको हुनुपर्ने आधार र शर्तहरू रहेको छ । 

प्रति १ लाख जनसङ्ख्यामा वार्षिक कम्तीमा २ जना शङ्कास्पद बिरामीको पहिचान भई प्रयोगशाला परीक्षणमा दादुरा नेगेटिभ भएको हुनुपर्ने, दादुरा रुबेला निवारण गर्न परिभाषित भौगोलिक क्षेत्रमा कम्तीमा १२ महिना सम्म स्थानीय दादुरा रुबेलाका रोगी देखा नपरेको हुनुपर्ने र ३ वर्ष सम्म सोही अवस्था कायम भएमा दादुरा–रुबेलाको अवस्था शुन्य भएको मानिन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button