तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशका करिब २० लाख बालबालिकालाई दादुरा रुवेलाको खोप लगाइँदै

जनकपुरधाम । खुल्ला सीमाना तथा अत्यधिक जनघनत्व भएका कारणले उच्च जोखिममा रहेका मधेश प्रदेशका जिल्लाहरूमा आजदेखि दादुरा रुवेला विरुद्धको खोप अभियान शुरु भएको छ ।

मधेश प्रदेशको ८ जिल्लामा फागुन १३ गते अर्थात् आजदेखि शुरु भएको दादुरा रुवेला विरुद्धको खोप अभियान चैत्र ७ गतेसम्म चल्ने मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक डा.राजिव कुमार झाले जानकारी दिनुभयो । 

मधेश प्रदेशका १ सय ३६ पालिकाको ११ हजार ३ सय ४६ खोप केन्द्रमार्फत करिब २० लाख बालबालिकाहरूलाई दादुरा रुवेलाको खोप लगाउने काम एक साथ शुरु भएको उहाँले जानकारी दिनुभयो ।

दादुरा रुवेला विरुद्धको खोप अभियान सफल बनाउनका लागि १५ हजार ५ सय ८४ खोप कार्यकर्ता परिचालन गर्नुका साथै १५ हजार ५ सय ८४ को सङ्ख्यामा स्वयं सेवक परिचालन गरेर खोप लगाउने काम भइरहेको छ । 

स्वास्थ्य निर्देशनालयमा १० मात्रा भएको २ लाख ५१ हजार ७ सय ९८ भाइल खोप सबै केन्द्रमा पुग्ने गरि जिल्ला स्वास्थ्य कार्यालयहरूमा पठाउने काम यसअघि नै भएको छ ।

दादुरा रुवेलाको खोप केन्द्रहरू प्रायः स्वास्थ्य संस्था, वडा कार्यालयका अतिरिक्त विद्यालयमा स्थापना गरिएको छ । मधेश प्रदेशका जिल्लाहरू दादुरा रुवेलाको दृष्टिकोणले पनि उच्च जोखिममा पर्ने जिल्ला भएकाले खोप कार्यक्रमलाई सफल बनाउनका लागि सबै राजनीतिक दलका नेताहरू, कार्यकर्ताहरू, जनप्रतिनिधिहरू, शिक्षक तथा शिक्षिकाहरूमा स्वास्थ्य निर्देशक डा.झाले आग्रह गर्नुभयो ।

मधेश प्रदेशका ८ जिल्लामा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका, ५९ गाउँपालिका तथा १ हजार २ सय ७१ वडा कार्यालयहरूमा एक साथ दादुरा रुवेला विरुद्धको खोप दिने कार्यक्रम रहेको छ । 

खोप लिनबाट लक्षित उमेर समूहका कुनै पनि बालबालिका नछुटोस् भन्नका लागि सजगता अपनाउका निर्देशनालयका खोप संयोजक लक्ष्मेश्वर झाले जानकारी दिनुभयो । खोप पुरा सुरक्षित भएकाले सबैलाई निर्धक्क भएर लगाउनका लागि स्वास्थ्य निर्देशनालयले आग्रह गरेको छ । 

नेपाल सरकारले सन् २०२६ सम्ममा नेपालबाट दादुरा रुवेला रोग उन्मूलन गर्ने लक्ष्य लिएर ९ महिनादेखि १५ वर्षका बालबालिकाहरूलाई खोप दिने कार्यक्रमको जनकपुरधाम उपमहानगरपालिका वडा नंं २३ लादो वेलामा रहेको विद्यालयमा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले शुभारम्भ गर्नुभयो ।

वडा नंं २३ का वडाध्यक्ष राघवेन्द्र साहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले दादुरा रुवेला रोग लाग्नबाट बालबालिकालाई जोगाउन तथा देशलाई यस रोगबाट मुक्त गराउन आजबाट शुरु भएको अभियानलाई सफल बनाउन सबैको सहयोग आवश्यक भएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button