तपाईँ सुन्दै हुनुहुन्छः

मोरङको बुढीगंगामा ट्रक पल्टिँदा तीन जना बालबालिकाको मृत्यु 

सुनसरी ।  मोरङको बुढीगंगामा ट्रक पल्टिँदा तीन जना बालबालिकाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । 

मोरङको बुढीगंगा गाउँपालिका–४ प्रगति टोल नजिक भारतीय नम्बरको मालवाहक ट्रक पल्टिँदा पल्टिएको लहरीले किचेर तीन जना बालबालिकाको घटनास्थलमा मृत्यु भएको हो । मृत्यु हुनेमा एकै परिवारको दुई जना र अर्का एक जना रहेका छन् ।

दुर्घटनामा बुढीगंगा गाउँपालिका ४ का ६० वर्षीय ज्योति अधिकारीको ४ वर्षीय छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सन्जु खवासको ८ वर्षीया छोरी रिहा खवासको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

उनीहरू सुतेको बेला भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लहरी गाडी पल्टिएर ठुलो ढुङ्गाले किचेर तीन जनाको मृत्यु भएको मोरङका प्रहरी प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालले  बताउनुभयो  । 

त्यस्तै, दुर्घटनामा ज्योति अधिकारी र सन्जु खवास घाइते भएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

आज बिहान ७ः०० बजे कच्चा पर्दाथ बोकेर उद्योगतर्फ जाँदै गरेको लहरी बुढीगंगा–४ प्रगति टोलमा दुर्घटना भएको थियो । दुर्घटना भएर लहरी ज्योतिको घरमा पल्टिएको प्रहरीले जनाएको छ । 

प्रहरी प्रवक्ता डिएसपी दाहालले घटनास्थलबाट ढुङ्गा पन्छाएर शव निकाल्ने प्रयास भइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button