तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीको जनज्योति माविमा विज्ञान प्रविधि तथा कला प्रदर्शनी

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–९ मा रहेको जनज्योति माध्यमिक विद्यालयमा विज्ञान प्रविधि तथा कला संस्कृति प्रदर्शनी गरिएको छ ।

जनज्योति माध्यमिक विद्यालयको आयोजनामा आज सर्लाहीमै पहिलो पटक भव्य रुपमा सो प्रदर्शनी गरिएको हो ।

प्रदर्शनीमा विद्यार्थीहरूले टरवाइनको मद्दतले विद्युत् उत्पादन, विद्युतीय कार, सोलार सिस्टम, नयाँ मोडेलका जेसीबीहरु, नेपालका विभिन्न कला संस्कृति झल्किने प्रदर्शनी, नदी, खोलाहरू, विभिन्न प्रदेश झल्किने चित्रहरू, किसानहरूलाई सिँचाई गर्न तथा औषधि छर्न नयाँ प्रविधिहरू निर्माण गरी प्रदर्शनीलगायत विभिन्न विज्ञान प्रविधि सम्बन्धी कलाहरू प्रदर्शन गरेको विद्यालयले जनाएको छ ।

प्रदर्शनीमा प्रमुख अतिथि मधेश प्रदेशका प्रदेशसभा सदस्य बेची लुङ्गेली र लालबन्दी नगर प्रमुख वासुदेव अधिकारीले वायोलोजी, फिजिक्स, केमेस्ट्री ल्याबको उद्घाटन समेत गर्नुभएको थियो । 

जनज्योति माध्यमिक विद्यालयका शिक्षक शङ्कर प्रसाद भट्टराईले प्रदर्शनीले विद्यार्थीको दक्षता, क्षमता अभिवृद्धि गर्न मद्दत पुग्ने जानकारी दिनुभयो । उहाँले विद्यार्थीहरूले सिकेका सैद्धान्तिक ज्ञानहरूलाई अनुभव, तथा व्यवहारमा उतार्नको लागि यो कला प्रदर्शनीले विद्यार्थीहरूमा महत्वपूर्ण प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । 

जनज्योतिका पूर्व विद्यार्थी अच्युत अधिकारीले सर्लाहीका सामुदायिक विद्यालयहरू मध्येकै यो विद्यालय उत्कृष्ट विद्यालय भएको बताउनुभयो । उहाँले यो विद्यालयले यस्तो प्रदर्शनी गरेर उत्कृष्ट तथा उदाहरणीय कार्य गरेको र यस्ता प्रदर्शनी निरन्तर रुपमा हुनुपर्ने बताउनुभयो । 

जनज्योति माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बलराम पोखरेलले विद्यार्थीको सीप बाहिर निकाल्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको बताउनुभयो । 

कार्यक्रममा हरिवन नगरपालिकाका नगर प्रमुख कमल बुढाथोकी, लालबन्दीका उपमेयर कल्पना पाख्रिन, पूर्व प्रधानाध्यापक रामनिवास साह, वर्तमान प्र.अ. विष्णु पौडेल, विभिन्न राजनैतिक दलका प्रतिनिधि, विद्यार्थी, अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो । 

प्रदर्शनी भोलि शनिवारसम्म चल्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button