तपाईँ सुन्दै हुनुहुन्छः

स्याङ्जामा ८ हजार भन्दा बढी सवारी साधन कारबाहीमा

स्याङ्जा । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गरेका साढे ८ हजार भन्दा बढी सवारी साधनलाई कारबाही गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय स्याङ्जाका प्रहरी जवान हेम मल्लका अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको अवधिमा ८ हजार ३२४ वटा सवारी साधनलाई कारबाही गरिएको हो । उक्त सङ्ख्यामा सवारी कारबाहीमा पर्दा ६० लाख १५ हजार पाँच सय रुपैयाँ जरिवाना बापत राजश्व सङ्कलन भएको छ ।

सबै भन्दा धेरै मोटरसाइकल कारबाहीमा परेका छन् । झण्डै ३ हजार मोटरसाइकल कारबाहीमा परेका हुन् ।

कारबाहीमा पर्ने सवारी साधनहरूले बस, जिप, भ्यानको छतमा यात्रु राख्ने, सवारी साधन तीव्र गतिमा चलाउने, सवारी लाइसेन्स तथा ब्लूबुक नलिएको, मोटरसाइकलमा ३ जना सवार हुने, मापसे गरी सवारी चलाउने, हेलमेट नलगाउने लगायतका ट्राफिक नियम उल्लङ्घन गर्ने रहेका छन् । यो अवधिमा ८ वटा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु भयो भने ३ जना घाइते भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button