तपाईँ सुन्दै हुनुहुन्छः

अध्यक्षको रुपमा सचिव सुवेदीको निर्देशन

काठमाडौँ । रेडियो नेपाल सञ्चालक समितिको बैठक आज बसेको छ । 

सञ्चार सचिव पदेन अध्यक्ष रहने व्यवस्था अनुरुप रेडियो नेपाल सञ्चालक समितिको बैठक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीको अध्यक्षतामा आज केन्द्रीय कार्यालय सिंहदरबारमा बसेको हो । 

बैठकले सचिव सुवेदीलाई रेडियो प्रसार सेवा विकास समितिका अध्यक्षको रुपमा स्वागत गर्दै यसअघि समितिका अध्यक्ष कृष्ण बहादुर राउतले गर्नुभएको योगदानप्रति आभारसहित धन्यवाद ज्ञापन गरेको छ । 

सञ्चालक समितिका सदस्य–सचिव तथा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीसहित सञ्चालक समिति सदस्य पार्वती शर्मा (सह–सचिव, अर्थ मन्त्रालय), सीताराम पोखरेल र तिलकजंग बुढाथोकीले खादा लगाएर सचिव सुवेदीलाई स्वागत गर्नुभयो । 

त्यस अवसरमा अध्यक्ष सुवेदीले रेडियो नेपालको श्रीवृद्धिका लागि सञ्चालक समिति मार्फत् संस्थाको बृहत्तर हित र कर्मचारीहरूको मनोभावनालाई समेत दृष्टिगत गरी नीतिगत निर्णय गरिने धारणा राख्नुभयो । 

वर्तमान समयमा समितिले राष्ट्रिय हितलाई केन्द्रमा राखी रेडियो नेपालले समाचार कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्नेमा अध्यक्ष सुवेदीले जोड दिनुभयो । साथै, उहाँले रेडियो नेपाललाई सार्वजनिक प्रसारण संस्थातर्फ उन्मुख गर्दै लैजान निर्देशन पनि दिनुभयो ।

रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) को सञ्चालक समितिमा सञ्चार मन्त्रालयका सचिव अध्यक्ष, अर्थ मन्त्रालयका सह–सचिव सदस्य, भाषा, साहित्य वा प्रसारणसहित सङ्गीत तथा कला क्षेत्रमा योगदान दिएका दुई जना सदस्य र कार्यकारी निर्देशक सदस्य–सचिव रहने व्यवस्था रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button