तपाईँ सुन्दै हुनुहुन्छः

उपचार र न्यायिक निरुपणमा समस्या भएको अपाङ्गता भएकाहरूको गुनासो

नवलपरासी पश्चिम् । अपाङ्गता भएका व्यक्तिहरूले स्वास्थ्योपचारमा समस्या भएको गुनासो गरेका छन् । मूलतः बोल्न नसक्ने र बहिरा व्यक्तिहरूलाई अस्पतालमा निकै असहज हुने गरेको उनीहरूको गुनासो छ ।

अपाङ्गता व्यक्तिहरूका लागि काम गर्ने उद्देश्यसहित पश्चिम् नवलपरासीमा भर्खरै स्थापना भएको सहयात्री नेपाल नामक संस्थाले आज सरोकारवाला, जनप्रतिनिधिहरुसँग गरेको अन्तरक्रियामा अपाङ्गता भएका व्यक्तिहरूले यस्तो पिडादायी समस्याको उठान गरेका हुन ।

‘डाक्टरलाई आफ्ना कुरा राख्न सक्दैनौ आफूमा भएको स्वास्थ्य समस्या बताउन नसक्दा रोगको निदान हुन सक्दैन’ बर्दघाट नगरपालिका ९ का अर्जुन रिजालले इसारा गरेर आफ्ना पीडा पोख्नुभयो । उहाँको नजिकै रहेकी साङ्केतिक भाषा प्रशिक्षक मार्फत उहाँले यो पीडा पोख्नुभएको हो । विपन्नताकै कारण उपचार गर्न नसक्ने अवस्था आएका कारण स्थानीय तहले स्वास्थ्य बिमा गरिदिन उहाँले आग्रह गर्नुभयो ।

अन्याय वा अन्य हिंसामा पर्दा समेत बोल्न र सुन्न नसकेकै कारण न्याय पाउन समेत कठिन भएको अर्की अपाङ्ग महिला उजेली विकको पीडा छ । उहाँ बोल्न नसकेकै कारण घरबाट अपहेलित भएर माइत बस्नु परेको बताउनुहुन्छ । उहाँका छोरा र छोरी दुई सन्तान रहेका छन् ।

अपाङ्गता छोराछोरी भएका अभिभावकलाई निकै समस्या हुने गरेको बिनादेवी विकको भनाई छ । उहाँकी छोरीमा बहिरोपनाको समस्या रहेको छ । ‘लाटालाटिलाई त कानुन पनि छैन क्या हो,न हाम्रा कुरा सुनिन्छ न हामीले न्याय पाउँछौ’ बिनादेवी बिक भन्नुहुन्छ ।

बहिरा, बोल्न नसक्ने र पूर्ण रुपमा शारीरिक अशक्तता नभएकाहरूले रोजगारीको व्यवस्था गरिदिन समेत स्थानीय जनप्रतिनिधीहरुसँग माग गरेका छन् । जनप्रतिनिधिका सामु जीविकोपार्जनमा समेत कठिन अवस्था आएको दर्दनाक पीडा उनीहरूले पोखे ।

बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठ एवम् उपप्रमुख रुद्रप्रकास उपाध्यायले अपाङ्गता भएका व्यक्तिहरूको जीविकोपार्जन र सीपमूलक तालिमका लागि नगरले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button