तपाईँ सुन्दै हुनुहुन्छः

पर्सा राष्ट्रिय निकुञ्जको आधाभारमा दुर्घटना हुँदा २ जनाको मृत्यु

वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्ज स्थित आधाभार जङ्गलको सडक खण्डमा आज ट्रक र जीप एकआपसमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

सिमराबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च १३३४ नम्बरको जीप एकआपसमा ठोकिँदा जिपमा सवार एक भारतीय नागरिक सहित २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा जिपका चालक नुवाकोटको बिदुर नगरपालिका–९ कोलनीका ३० वर्षीय सुजन मगराती र भारतको बिहार राज्य मोतिहारी मधुवनका २८ वर्षीय चन्दन चौहान छन् ।

दुवै जनाको वीरगञ्जको गण्डकस्थित एलएस न्यूरो अस्पताल उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरूमा जिपमै सवार भारतीय नागरिक बिहार मजफ्फरपुर परखना मोतीपुरका २२ वर्षीय राहुल चौधरी, बिहार महाराजगञ्ज गोरखपुरका १७ वर्षीय सुदीप चौहान, सोही ठाउँ बस्ने १९ वर्षीय रामलखन चौहान र ट्रक चालक बाराको परवानीपुर गाउँपालिका–४ चैनपुरका ३० वर्षीय रवि पटेल रहेका छन् ।

घाइते सबैको वीरगञ्जको गण्डकस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button