तपाईँ सुन्दै हुनुहुन्छः

नेटोको सदस्यता लिने प्रस्तावमा मतदानअघि स्विडेनका प्रधानमन्त्रीले हङ्गेरीको भ्रमण गर्ने

बुडापेस्ट ।  स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले नेटोमा सामेल हुने आफ्नो मुलुकको प्रस्तावमा प्रमुख संसदीय मतदान हुनुभन्दा तीन दिनअघि शुक्रबार हङ्गेरीका समकक्षी भिक्टर ओर्बनसँग भेट गर्नुहुने अधिकारीहरूले मङ्गलबार बताएका छन् । 

गत महिना टर्कीएको अनुमोदनपछि हङ्गेरी स्विडेनलाई नेटो गठबन्धनमा सामेल हुनबाट रोक्ने अन्तिम नेटो सदस्य बनेको छ । युक्रेनमा रुसको आक्रमणपछि स्विडेनले फिनल्यान्डसँगै सन् २०२२ मेमा नेटोमा सामेल हुनका लागि आवेदन दिएको थियो । 

यद्यपि आफूले सैद्धान्तिकरूपले स्टकहोमको समर्थन गरेको भन्दै बुडापेस्टले स्विडेनसँग ओर्बनको राष्ट्रवादी सरकारको ‘निन्दा’ बन्द गर्न आग्रह गरेर प्रक्रियालाई लम्ब्याएको छ । 

स्विडेन सरकारले एक विज्ञप्तिमा भनेको छ, “बुडापेस्टमा ओर्बनसँग क्रिस्टर्सनको छलफलमा ‘हङ्गेरी र स्विडेनबीच रक्षा र सुरक्षा नीति सहयोग’ समावेश हुनेछ ।” हङ्गेरीका प्रधानमन्त्री ओर्बनले सामाजिक सञ्जाल एक्समा बुडापेस्टमा क्रिस्टर्सनलाई स्वागत गर्न पाउँदा ‘खुसी’ हुने बताउनुभएको छ । 

हङ्गेरीको संसद्ले सोमबार स्विडेनको नेटो प्रस्तावमा मतदान गर्नेछ । यसअघि मतदानको घोषणा गर्दा सत्तारूढ पार्टी फिडेज संसदीय समूहका नेता मेट कोक्सिसले आफ्नो समूहले स्विडेनको सदस्यतालाई ‘समर्थन गर्ने’ योजना बनाएको बताउनुभएको छ । 

ओर्बनले शनिबार हङ्गेरी स्विडेनको प्रस्तावलाई अनुमोदन गर्न ‘सही मार्गमा’ रहेको घोषणा गर्नुभएको थियो । “खुसीको खबर के छ भने स्विडेनसँग हाम्रो हालको विवाद निष्कर्षतर्फ बढिरहेको छ”, उहाँले कुनै विवरण नदिई भन्नुभयो, “स्विडेनका प्रधानमन्त्रीसँग मिलेर हामीले विश्वास पुनर्निर्माणका लागि महत्त्वपूर्ण कदम चालेका छौँ ।”

ओर्बनको टिप्पणीबारे सोध्दा स्विडेनका प्रधानमन्त्री क्रिस्टर्सनले सोमबार ओर्बनको भनाइको अर्थबारे आफूलाई थाहा नभएको बताउनुभयो । “नेटोमा सामेल हुने यो प्रक्रियालाई अन्तिम रूप दिने दृढ इच्छाशक्ति रहेको हो भन्ने मलाई लागेको छ”, उहाँले भन्नुभयो । 

स्विडेनका अधिकारीहरूले अनुमोदनमा कुनै कुराकानी नहुनेमा जोड दिएका छन् । ओर्बनले सबैभन्दा पहिला सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै आफूले क्रिस्टर्सनलाई ‘छलफल’ का लागि आमन्त्रण गरेको बताउनुभएको छ । निमन्त्रणा पत्रमा उहाँले ‘छलफल’ शब्दको प्रयोग गर्नुभएको छैन तर ‘साझा चासोका मुद्दामा विचारहरूको आदानप्रदान’ का लागि आमन्त्रित गरेको बताउनुभएको छ । 

बुडापेस्टले प्राय स्विडेनका प्रतिनिधिहरूमाथि नियम–कानूनका मुद्दामा ‘हङ्गेरीलाई बारम्बार प्रहार गर्न उत्सुक’ भएको आरोप लगाउँदै स्विडेनको ‘शत्रुतापूर्ण मनोवृत्ति’ को निन्दा गरेको छ । 

सन् २०१० मा सत्तामा फर्किएपछि राष्ट्रवादी प्रधानमन्त्री ओर्बनले आलोचकहरूसँग आफ्नो शक्ति बलियो बनाउनुभएको छ र उहाँमाथि लोकतान्त्रिक तरिकाबाट पछि हटेको आरोप लगाइएको छ । 

युक्रेन आक्रमणपछि क्रेमिलनसँग सम्बन्ध कायम राख्ने एकमात्र युरोपेली नेता ओर्बनको नियम–कानून, एलजिबिटिक्यु र शरणार्थी अधिकार तथा अन्य मुद्दामा प्राय ब्रसेल्ससँग बारम्बार झगडा हुन्छ । युरोपेली कोषको दुरुपयोग भएको आशङ्कामा ब्रसेल्सले अर्बौं युरो फ्रिज गरेको छ । 

पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले सोमबार रुस–युक्रेन युद्ध भड्किएसँगै स्विडेनको नेटो सम्मिलनलाई अनुमति दिन हङ्गेरीको ‘अस्वीकार्य’ ढिलाइको आलोचना गर्नुभयो । 

सप्ताहन्तमा द्विदलीय अमेरिकी सिनेटरहरूको एक समूहले स्विडेनको प्रस्तावमा दबाब दिन हङ्गेरीको भ्रमण गरेको थियो । सरकारले उनीहरूसँग भेट गर्न अस्वीकार गरेको छ । नेटो सदस्यता आवेदनका लागि गठबन्धनका सबै सदस्यबाट सर्वसम्मत अनुमोदन आवश्यक पर्दछ । फिनल्यान्ड अप्रिलमा नेटो सैन्य गठबन्धनको ३१औँ सदस्य बनेको छ । एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button