तपाईँ सुन्दै हुनुहुन्छः

सहकार्यबाट मात्र विद्यार्थीलाई विदेश जानबाट रोक्न सकिन्छ : मन्त्री राई

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई पोखरा विश्वविद्यालयको मङ्गलबार कास्कीको पोखरामा आयोजित १९ औँ दीक्षान्त समारोहमा मन्तव्य व्यक्त गर्दै । तस्बिर : ऋषिराम बराल/रासस

पाेखरा । संघीय सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं पोखरा विश्व विद्यालयका सहकुलपति अशोक राईले  सरकार, विद्यार्थी र अभिभावकको सहकार्यबाट मात्र विद्यार्थीलाई विदेश जानबाट रोक्न सकिने बताउनु भएको छ ।

पोखरा विश्व विद्यालयको उन्नाइसौँ दीक्षान्त समारोहलाई मङ्गलवार पोखरामा सम्बोधन गर्दै मन्त्री राईले सहकार्यबाट नै  उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीलाई विदेश जान रोक्न सकिन्छ भन्ने मन्त्री राईको भनाई थियो । मन्त्री राईले रोजगारीमूलक शिक्षा प्रदान गर्न नसक्दा युवाहरू विदेश जाने क्रम तीव्र बन्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभएको छ ।‘विद्यार्थीलाई रोजगारीमूलक शिक्षा दिन नसक्नु नै हाम्रो कमजोरी हो, उनीहरूले नेपालमा भविष्य नदेखेर नै विदेश पलायन भएका हुन्। मन्त्री राईले भन्नुभयो– उनीहरुलाई नेपालमा नै बस्ने वातावरण बनाउन रोजगारमूलक शिक्षा र उच्चशिक्षामा अनुसन्धानात्मक कार्यमा लगाउन जरुरी हुन्छ ।’ देशको अर्थतन्त्र कमजोर भएकै कारण सरकारले शिक्षामा लगानी वृद्धि गर्नु नै आजको आवश्यकता हो ।  ‘जहाँ शिक्षा छ त्यहाँ विकास, रोजगार र शान्ति हुन्छ, मन्त्री राईले भन्नुभयो–आफूले आर्जन गरेको ज्ञान र सीपलाई देशमा नै प्रयोग गर्नुपर्दछ  ।

प्रमुख अतिथिको रुपमा बोल्दै मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान् कोइरालाले पूर्वीय दर्शनलाई पछ्याउन् नसक्दा उच्च शिक्षामा चुनौती पैदा भएको बताउनुभएको छ । ‘हामीले पूर्वीय दर्शन पछ्याउन नसक्दा उच्च शिक्षा हासिल गर्न विद्यार्थी विदेशीने क्रम तीव्र बन्दै गएको हो, डा कोइरालाले भन्नुभयो– नेपालको शैक्षिक क्रियाकलाप र व्यवस्थापन कमजोर हुँदा पनि विद्यार्थीहरू यहाँ अडिन सकेनन् । ’ उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी विदेश जाँदा नेपालको शैक्षिक क्षेत्रमा ठूला धक्का लागेको कोइरालाले भन्नुभयो ।

पोखरा विश्व विद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभिन्न सङ्कायतर्फका डिन लिष्टमा परेका विद्यार्थीलाई दीक्षित गरिएको थियो । सो अवसरमा स्नातक तह कम्प्युटर एप्लीकेशन कार्यक्रममा सबैभन्दा बढी अङ्क ल्याउने विशिष्ट श्रेणीमा उत्तीर्ण आस्था श्रेष्ठ गोल्ड मेडल र व्यवस्थापन सङ्काय अन्तरगत आङ्गिक महाविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर तहमा उच्च अङ्क प्राप्त गर्ने सृष्टि भुर्तेल लक्ष्मी विद्या पदकबाट पदकसहित विभूषित गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button