तपाईँ सुन्दै हुनुहुन्छः

महासमिति बैठकले पार्टीलाई थप बलियो, सुदृढ र एकताबद्ध बनाउँछ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई थप बलियो र सुदृढ बनाउन विधान संशोधन गर्ने विषयमा छलफल गर्न सकिने बताउनुभएको छ । 

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आजदेखि सुरु महासमिति बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले महासमिति बैठकले पार्टीलाई थप बलियो, सुदृढ र एकताबद्ध बनाएर लैजाने बताउनुभयो ।

सभापति देउवाले संविधान कार्यान्वयनले सुशासन र विकास गर्न सकिन्छ भन्नेमा दृढ रहेको स्पष्ट पार्दै कार्यान्वयनमा देखा परेका जटिलता र अस्पष्टताको पहिचान गरे शासकीय स्वरूपमा मूलभूत प्रभाव नपर्ने गरी संविधान संशोधन गर्न सकिने धारणा राख्नुभयो । 

सभापति देउवाले कुनै पनि दलले स्पष्ट बहुमत ल्याउने सम्भावना कम रहेको बताउँदै गठबन्धन गर्ने नगर्ने विषय तत्कालीन परिस्थितिको ठोस मूल्याङ्कन गरेर त्यसै समयमा निर्णय लिन सकिने बताउनुभयो ।

लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताउँदै  सभापति देउवाले देशको सार्वभौम अखण्डता, स्पष्ट परराष्ट्र नीति, शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायमा समान धारणा हुनुपर्ने स्पष्ट पार्नुभयो ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आजदेखि सुरु महासमिति बैठकमा उपसभापति गुरुङले चारदिन सम्म चल्ने महाधिवेशन नियमित महाधिवेशनमात्र नभई पार्टीले लिएको सङ्कल्प अनुसारको नीति तय गर्ने विशेष बैठक भएको बताउनुभयो ।

आजदेखि चार दिनसम्म ललितपुरको गोदावरीमा चल्ने महासमितिको बैठकले पार्टीको नीति निर्माण गर्ने काँग्रेसले जनाएको छ ।

बैठकमा पार्टीको फागुन ४ गतेको केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदित नीति, साङ्गठनिक, समसामयिक राजनीतिक, नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा र लेखा परीक्षण प्रतिवेदन पेस हुने जनाइएको छ ।महासमिति बैठक प्रस्तुत प्रतिवेदनहरू तराई, मधेस, हिमाल, पहाड सबै क्षेत्रबाट प्रतिनिधित्व रहने गरी चार वटा हलमा छुट्टा छुटै रूपमा छलफल गर्ने काँग्रेसले जनाएको छ ।

बैठकमा केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्य, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्यहरूको सहभागिता रहेको छ । यसैगरी नेपाली जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्था र महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी गराइएको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button