तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडाको सहिद स्मारकमा जिल्लाकै अग्लो झन्डा फहराइयो 

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकमा मकवानपुर जिल्लाकै अग्लो झन्डा फहराइएको छ । स्मारक विकास समितिले प्रजातन्त्र दिवको अवसर पारेर ६५ फिट अग्लो डण्डीमा २२ फिट लामो साइजको झण्डा फहराएको हो । 

सोमबार राष्ट्रिय कलाकार हरिवंश आचार्यले स्मारक परिसरमा झण्डाको उद्घाटन गर्नुभयो । सोक्रममा उहाँले प्रदेशको राजधानी हेटौँडाको मुख्य पर्यटकीय स्थल सहिद स्मारकमा प्रजातन्त्र दिवसको अवसर पारेर झण्डोत्तलन गर्न पाएकोमा खुसि व्यक्त गर्नुभयो । उहाँले ६५ वर्षको उमेरमा ६५ फिटको झण्डा फहराउन पाउनुलाई ठूलो अवसरका रुपमा लिएको बताउनुभयो । 

कार्यक्रममा स्मारक विकास समितिका अध्यक्ष एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ३ करोड नेपालीले रुचाएको व्यक्तिबाट ३ करोड नेपालीको राष्ट्रिय झन्डा फहराइएको बताउनुभयो । उहाँले स्मारक बागमती प्रदेशको मात्र नभई नेपालकै उत्कृष्ट पार्कका रुपमा विकास हुँदै गएको भन्दै यहाँ विदेशबाट समेत पर्यटकहरू आउने गरेको बताउनुभयो । उहाँले स्मारक सबैको साझा भएको समेत बताउनुभयो । 

स्मारक परिसरमा राखिएको उक्त झण्डा जिल्लाकै सबैभन्दा ठुलो र अग्लो रहेको स्मारक विकास समितिका सचिव रघुनाथ खुलालले बताउनुभयो । स्मारकमा छिमेकी देश भारतबाट समेत पर्यटकको निकै आवागमन हुने हुँदा राष्ट्रिय झन्डा फहराउँदा सकारात्मक सन्देश जाने बताउनुभयो । साथै आजैबाट स्मारक परिसरमा दैनिक बिहान १० बजे राष्ट्रिय गान बजाउने कार्यको समेत शुभारम्भ गरिएको उहाँले बताउनुभयो । 

कार्यक्रममा संविधानसभा सदस्य अनन्त पौडेल, बागमती प्रदेशकी पूर्वराज्यमन्त्री जुनेली श्रेष्ठ, बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, हेटौँडा–११ का वडाअध्यक्ष जुना दाहाल, ४ नम्बर वडाअध्यक्ष नवीन सिग्देललगायतको उपस्थिति थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button