तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पाको त्रिवेणीबाट २४ करोड बराबरको तरकारी निकासी 

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकाबाट २४ करोड बराबरको तरकारी निकासी भएको छ । 

जिल्लाकै तरकारी उत्पादनको दृष्टिकोणले उत्कृष्ट हबको रुपमा चिनिँदै आएको त्रिवेणी गाउँपालिकाको जुगार, बुढागाउ, नुवागाउ गैरीगाउबाट चालु आवको साउनदेखि पुस मसान्तसम्म करिब २४ करोड १८ लाख ३० हजार मूल्य बराबरको ३३ लाख २५ हजार ८६ किलो तरकारी निकासी भएको त्रिवेणी गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

यहाँका किसानहरुले वर्षेनी करोडौँ मूल्यको तरकारी खेती गरेर बिक्री गरी आम्दानी गर्दै आएका छन् । तरकारी खेती गर्ने एक किसानले प्रत्येक वर्ष करिब ५ लाख मूल्य बराबरको तरकारी बिक्री गर्ने गरेको र तरकारी खेती आम्दानीको गतिलो स्रोत भएको किसानले बताउँछन् ।

यहाँका किसानले टमाटर, बन्दा गोपी, काउली, सिमी, अदुवा, तितेकरेला, काक्रा,फर्सी, घ्युकरेला, पिरो खुर्सानी, आलु, प्याज, गाजर, मुला, साग, केराउ, भेडे खुर्सानी, धनियाँलगायत नगदेबाली तरकारी खेतीको रुपमा गर्दै आएका छन् ।

किसानबाट तरकारी सङ्कलन गर्न त्रिवेणी गाउँपालिकाभरि १५ वटा कृषिउपज सङ्कलन केन्द्र सञ्चालित छन् । तरकारी खरिद गर्न प्रत्येक हप्ता हाट बजार स्थलमा दाङ, बुटवल, नारायणगढ, नेपालजन्जलगायतका ठाउँबाट तरकारी खरिद गर्न व्यापारी रोल्पा पुग्ने गरेका छन् । त्रिवेणी गाउँपालिकाको कृषि शाखाले पनि यहाँका किसानलाई प्रोत्साहित गर्न विभिन्न किसिमको अनुदानमा आधारित कार्यक्रम सञ्चालन समेत गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button