तपाईँ सुन्दै हुनुहुन्छः

टोकला चियालाई अन्तर्राष्ट्रिय सम्मान 

चितवन । नेपाल चिया विकास निगमद्वारा उत्पादित टोकला चियाले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ ।

चितवनको नारायणी किनारमा हालै सम्पन्न राष्ट्रिय चिया प्रदर्शनीमा कृषि तथा पशुपंक्षी विकास मन्त्री वेदुराम भुषालले आठौँ एशिया टी कम्पिटिसन–२०२३ कोचिया गुणस्तरमा गोल्ड विजेता टोकला चियाका उत्पादक नेपाल चिया विकास निगमलाई पुरस्कृत गर्नुभएको हो ।

निगमका कार्यकारी अध्यक्ष सुभाष चन्द्र संघईले सो सम्मान ग्रहण गर्नुभएको थियो  । सो प्रतिस्पर्धामा नेपाल चिया विकास निगम लिको कन्याम बगानको चियाले गोल्ड विजेता पाएको थियो । हरेक बर्ष चीनमा विश्वभरिका १७ चिया उत्पादन गर्ने देशबीच हुने यस प्रतियोगितामा नेपालको तर्फबाट नेपाल चिया विकास निगमले सहभागिता जनाउँदै आएको थियो । निगमको कन्याम चिया बगानले २०२३ को उत्कृष्ट चिया भनेर गोल्ड विजेता पाएको हो ।

झापा र इलाममा रहेको आफ्नै ७ वटा चिया बगानहरूबाट उत्पादित चिया नेपालीहरू माझ निकै नै लोकप्रिय तथा अन्तर्राष्ट्रिय स्तर मै चिर–परिचित टोकला चियाको उत्पादन तथा बिक्री वितरण गरिरहेको निगमले जनाएको छ । यस पुरस्कारले नेपाली चियालाई अन्तर्राष्ट्रिय बजारमा थप चिनाउन र प्रवद्र्धन गर्न निकै ठूलो टेवा दिने कम्पनीको भनाई छ ।

यही माघ २६ र २७ गते नेपाल चिया तथा कफी विकास बोर्डको आयोजना तथा उद्योग वाणिज्य संघ चितवन, होटल व्यवसायी संघ चितवन तथा भरतपुर महानगरपालिकाको सह–आयोजनामा नारायणी नदीको किनारमा नेपालमा उत्पादित चियाहरूको वृहत् प्रदर्शनी तथा टी टेस्टिङ कार्यक्रम भएको थियो । 

मेलामा चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाको सहभागिता तथा विभिन्न चिया उत्पादक कम्पनीहरूले आफ्नो उत्पादनको प्रदर्शनी एवम् टेष्टिङ कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button