तपाईँ सुन्दै हुनुहुन्छः

विश्व रेडियो दिवस: रेडियो नेपालबाट थप एक भाषा बज्जिकामा समाचार प्रसारण प्रारम्भ

काठमाडौँ । रेडियो नेपालले २२ औँ भाषाका रुपमा बज्जिका भाषामा समाचार प्रसारण शुभारम्भ गरेको छ । 

रेडियो नेपालमा विश्व रेडियो दिवसका अवसरमा आज आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो नेपाल सञ्चालक समितिका अध्यक्ष रामकृष्ण सुवेदीले मधेस प्रदेशस्थित बर्दिबास प्रसारण केन्द्रबाट आजदेखि नियमित रुपमा बज्जिका भाषा प्रसारणको शुभारम्भ गर्नुभएको हो । 

त्यस अवसरमा सञ्चार सचिव सुवेदीले बज्जिका भाषा बोल्ने समुदायका दुखसुख नजिकबाट आफूले नियालेको र अन्य भाषाका समाचार तथा कार्यक्रम पनि प्रसारण गर्न मन्त्रालय लाग्ने बताउनुभयो ।

सचिव सुवेदीले सार्वजनिक प्रसारण सेवामा रेडियो नेपाल रूपान्तरित हुने क्रममा रहेकाले त्यस अनुरुप आफूलाई परिमार्जन गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले १६ औँ पञ्चवर्षीय योजनाको अन्त्यसम्म रेडियो नेपालले ३० वटा भाषामा समाचार र कार्यक्रम प्रसारण गर्ने लक्ष्य राखेको बताउनुभयो । 

कार्यकारी निर्देशक केसीले राज्यको नीति अनुसार रेडियो नेपाललाई सत प्रतिशत जनसङ्ख्यामा पुर्‍याउन व्यवस्थापन लागि परेको र हालसम्म ३२ वटा एफएम स्टेशन, ४ वटा मिडियम वेभ र डिजिटल प्लेटफर्ममार्फत ९३ प्रतिशत जनसङ्ख्यामा पुग्न सफल भएको जानकारी गराउनुभयो । 

कार्यकारी निर्देशक केसीले कुल जनसङ्ख्याको १ प्रतिशत बोलिने र लिपिबद्ध भएको भाषालाई रेडियो नेपालले समाचार र कार्यक्रममार्फत प्रसारण गर्ने उल्लेख गर्नुहुँदै आगामी दिनमा राजवंशी भाषामा पनि समाचार प्रसारण गर्ने तयारी रहेको बताउनुभयो । 

त्यस अवसरमा भाषा आयोगका अध्यक्ष डा.गोपाल ठाकुरले पश्चिमा संस्कृतिले मातृभाषालाई दबाउँदै गएकाले रेडियो नेपालले विभिन्न भाषामा कार्यक्रम र समाचार प्रसारण गरेर मातृभाषाको सम्मान गरिरहेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका सभापति विपुल पोखरेलले भाषाले समुदायका मौलिक तथा  सकारात्मक पक्ष संस्कृति र संस्कार आदानप्रदान गर्ने भएकाले समाजमा बोल्ने सबै भाषालाई प्राथमिकता दिएर सम्मान गर्नुपर्ने बताउनुभयो । 

यसैगरी त्रिभुवन विश्वविद्यालय ललितकला केन्द्रिय विभागका प्रमुख डा.धुव्रेसचन्द्र रेग्मीले शास्त्रीय सङ्गीतलाई उचाइमा पुर्‍याउन विगतमा रेडियो नेपालको भूमिका महत्वपूर्ण रहेको  र अबका दिनमा पनि यस विधालाई स्थान दिने विषयले खुसी प्रदान गरेको बताउनुभयो । 

राष्ट्रिय समाचार समितिका अध्यक्ष धमेन्द्र झाले ज्ञान हस्तान्तरणको माध्यम भाषा भएकाले राज्यले सम्पूर्ण भाषालाई सम्मान गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा बज्जिका भाषा विज्ञ विवेकानन्द मिश्रले नेपालको छैटौँ भाषा र मधेस प्रदेशमा बोलिने तेस्रो भाषाका रुपमा बज्जिका भाषा रहेको बताउनुभयो । 

कार्यक्रममा बज्जिका भाषाका अभियन्ता एवम् कवि शिवचन्द्रप्रसाद साह (बज्जिका मित्र)ले बज्जिका भाषामा नेपाल अङ्ग्रेजको ऐतिहासिक युद्ध भूमि लडैया समनपुर शीर्षकको कविता समेत वाचन गर्नुभएको थियो । 

रेडियो नेपालले आजदेखि मधेस प्रदेश स्थित प्रसारण केन्द्र बर्दिबासबाट ५ बजेर ४५ मिनेटमा बज्जिका भाषामा समाचार प्रसारण गर्दैछ । योसहित रेडियो नेपालबाट हालसम्म समाचार प्रसारण भइरहेको भाषाको सङ्ख्या २२ वटा पुगेको छ । 

तस्विर : मिलन ढुङगाना / रेडियाे नेपाल

प्रतिक्रिया राख्नुहोस्

Back to top button