तपाईँ सुन्दै हुनुहुन्छः

लगातार तेस्रो हारपछि लुम्बिनी बाहिरियो, सुदूरपश्चिम र गण्डकी विजयी

नेपालगन्ज । बाँकेको कोहलपुरमा जारी सुशील कोइराला मेमोरियल अन्डर नाइन्टिन महिला क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो दिन सम्पन्न दुई खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन् । सुदूरपश्चिमले बागमतीलाई तथा गण्डकीले लुम्बिनी प्रदेशलाई पराजित गर्‍यो ।

दिनको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्‍यो। बागमतीले दिएको ९० रनको लक्ष्य सुदूरपश्चिमले १५.४ ओभरमा २ विकेट गुमाएर भेटायो।

सुदूरपश्चिमको ब्याटिङमा प्लेयर अफ द म्याच समेत घोषित सावित्री धामीले सर्वाधिक ४७ रन योगदान दिइन्। अविजित रहँदै धामीले ४२ बलमा ५ चौका प्रहार गरिन्। स्नेहा महराले अविजित २४ रन बनाइन्। तेस्रो विकेटको लागि सावित्री र स्नेहाले अविजित ५६ रनको साझेदारी गरे।

बागमतीको बलिङमा एक मात्र विकेट मनिषा उपाध्यायले लिइन् ।

टस जितेर ब्याटिङ गरेको बागमतीले २० ओभरमा ७ विकेट गुमाएर ८९ रन बनायो ।

बागमतीको लागि कप्तान सोनी पाख्रिनले सर्वाधिक २९ रन योगदान दिइन्। क्रिश्मा गुरुङले १२ तथा साबिका यादवले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

सुदूरपश्चिमको बलिङमा अनु कठायत र क्रिश्मा गुरुङले १/१ विकेट लिए। सुदूरपश्चिमले ५ विकेट रन आउट मार्फत पायो ।

दिनको दोस्रो खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई ५० रनले पराजित गर्‍यो । गण्डकीले दिएको ११३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १६.५ ओभरमा ६२ रनमा सबै विकेट गुमायो ।

लुम्बिनीको ब्याटिङमा आशमा पुलामी मगरले सर्वाधिक २८ रन योगदान दिनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

गण्डकी प्रदेशको बलिङमा सिमाना केसी एक्लैले ६ विकेट हात पारिन्। प्लेयर अफ द म्याच घोषित उनले ४ ओभरमा मात्र १४ रन खर्चिन्। रचना चौधरीले २ तथा आकृति तिवारी र निरुता जीटिले १/१ विकेट लिए ।

टस जितेर ब्याटिङ गरेको गण्डकीले २० ओभरमा ४ विकेट गुमाएर ११२ रन बनायो।

गण्डकीको लागि सिमाना केसीले सर्वाधिक ४३ रन बनाइन्। अविजित रहँदै केसीले ४६ बलमा ४ चौका प्रहार गरिन्। सरिना थापाले १६ तथा सलिना सेनले १० रन योगदान दिइन्। लुम्बिनीको बलिङमा सरु तिवारीले १ विकेट लिँदा बाँकी ३ विकेट रन आउट मार्फत पायो।

आज जितपछि ३ खेलमा २ जित र १ हार बेहोरेको गण्डकी प्रदेश दोस्रो स्थानमा छ। समान अङ्कसहित २ खेलमा जित दर्ता गरेको कोहलपुर मेयर–११ शीर्ष स्थानमा छ। २ खेलमा समान १ जित र १ हार बेहोरेको बागमती र सुदूरपश्चिम प्रदेश नेट रन रेटको आधारमा तेस्रो र चौथो स्थानमा छ। तिन वटै खेलमा पराजित भएको लुम्बिनी एक खेल अगावै प्रतियोगिताको फाइनल दौडबाट बाहिरिएको छ।

प्रतियोगिता अन्तर्गत चौथो दिन पनि दुई खेल हुनेछन्। दिनको पहिलो खेल बिहान ९ः३० बजे बागमती प्रदेश र गण्डकी प्रदेश बीच हुनेछ। दोस्रो खेल दिउँसो १ः३० बजे कोहलपुर मेयर–११ र सुदूरपश्चिम प्रदेश बीच हुनेछ।

प्रतियोगितामा कोहलपुर मेयर–११, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश सहभागी छन्। सबै टिमले एक–अर्कासँग एक खेल खेलेपछि अङ्कतालिकाको शीर्ष स्थानमा रहने दुई टिमले फाइनल खेल्नेछन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button