तपाईँ सुन्दै हुनुहुन्छः

हनुमान झुलाका ८ सय परिवार अझै विद्युत् सेवाबाट बञ्चित

वीरगञ्ज । पर्साको ठोरी सँग जोडिएको चितवनको माडी नगरपालिका–९ हनुमान झुलामा अझै पनि विद्युत् सेवा नपुग्दा झण्डै ८ सय घर परिवार प्रभावित भएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले बाँदर झुलामा विद्युतीकरणका लागि दुई वर्षअघि नै साढे दुई करोड रुपियाँ बजेट विनियोजन गरी टेण्डर आह्वान समेत गरेको थियो ।

तर, चितवन राष्ट्रिय निकुञ्ज कार्यालयलले आफ्नो मध्यवर्ती क्षेत्रमा रहेको अव्यवस्थित बस्तीलाई प्रोत्साहन गरी अतिक्रमणलाई बढावा मिल्ने गरी कुनै योजना सञ्चालन नगर्न पत्राचार गरेपछि विद्युतीकरणका लागि गरिएको टेण्डर प्रक्रिया रोकिएको थियो ।

पर्साको ठोरी र भारतीय सीमासँग जोडिएको चितवनको हनुमान झुला क्षेत्रमा निकुञ्जले कुनै योजना सञ्चालन नगर्न र विना अनुमति गरेमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली, २०५२ बमोजिम कारबाही हुने जानकारी गराएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्र दाबी गरेको हनुमान झुलामा करिब आठ सय घरपरिवारका तीन हजार पाँच सय जनाभन्दा बढी जनसङ्ख्या बसोबास गर्दै आएका छन् । निकुञ्जले भने आफ्नो क्षेत्र अतिक्रमण गरेर बस्ती बसेकाले उक्त बस्तीलाई अन्यत्रै स्थानान्तरण गर्नुपर्ने बताउँदै आएको छ ।

उक्त क्षेत्रमा २०४७ साल कात्तिकबाट बसेकाले वर्षाैंदेखि आफूले भोगचलन गर्दै आएको जग्गामा स्थानीयले आफ्नो दाबी गर्दै आएका छन् । विद्युतीकरणको समस्या देखिएपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, हेटौँडा प्रदेश डिभिजन कार्यालयका प्रमुख सहितको टोली आइतबार हनुमान झुला क्षेत्रमा पुगी स्थानीयहरूसँग अन्तरक्रिया गरेको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले हनुमान झुला क्षेत्रमा विद्युत् पुर्‍याउन बजेट विनियोजन गरी काम गर्न टेण्डर आह्वान गरी प्रक्रिया अन्तिम चरणमा पुगेको अवस्थामा निकुञ्जको कानुनी व्यवस्था र प्रक्रियाका कारण विद्युतीकरण गर्न नसकिएको बताउनुभयो ।

उहाँले हनुमान झुलाको बस्ती स्थानान्तरण गरिएमा विद्युतका संरचना पनि हट्ने उल्लेख गर्दै घर÷बस्ती भएको क्षेत्रमा विद्युत् पुर्‍याउनु प्राधिकरणको दायित्व भएकाले यसका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा बस्ती स्थानान्तरण गरिएमा विद्युतका संरचना सार्न सकिने दाबी गर्दै हनुमान झुलामा बिजुली पुग्ने आश्वासन दिनुभयो ।

अन्तरक्रिया कार्यक्रममा माडी नगरपालिका–९ का वडाध्यक्ष घनश्याम दवाडीले निकुञ्जले सहज रुपमा काम गर्न नदिँदा नदिँदै पनि व्यावहारिक रुपमा सङ्घ, प्रदेश र स्थानीय तहबाट हनुमान झुला तत्कालीन बाँदर झुला क्षेत्रमा विकासमा लगानी भइरहेकाले विद्युतीकरण तत्काल अगाडि बढाउन आग्रह गर्नुभयो ।

हाल हनुमान झुलामा एक माध्यमिक विद्यालय, २ वटा आधारभूत विद्यालय, सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट, स्वास्थ्य चौकी लगायतका सरकारी कार्यालय तथा विद्यालय रहेका छन् ।

विद्युत् अभावमा विद्यालयका विज्ञान प्रयोगशाला र स्वास्थ्य चौकीमा स्थापना गरिएको बर्थिङ सेन्टर सञ्चालनमा आउन नसकेको गुनासो वडा अध्यक्ष दवाडीले गर्नुभयो ।

हनुमान झुलाका स्थानीय दिलीप विकले भारतसँग सीमा जोडिएको यस क्षेत्रमा आफूहरू विना बर्दीका सिपाहीको रुपमा सीमा रक्षकको काम गरिरहेको दाबी गर्दै राज्यले उपलब्ध गराउने विद्युत् सेवाबाट ८ सय परिवार वञ्चित भएको गुनासो गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button