तपाईँ सुन्दै हुनुहुन्छः

त्रिवि उपकुलपतिको सर्टलिस्टमा परेका विवादित व्यक्तिबारे पुनरविचार गर्न ध्यानाकर्षण


काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटको सर्टलिस्टमा परेका १४ जनामध्ये विवादित व्यक्तिहरुबारे पुनर्विचार गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले बौद्धिक चोरी, भ्रष्टाचार मुद्दा लागेका र सूचना लुकाएको अभियोगमा जरिवाना पाएकाहरु समेत सर्टलिस्टमा परेको भन्दै उपकुलपति नियुक्तिको प्रक्रिया तत्काल रोक्न माग गरेपछि समितिले विवादित व्यक्तिहरुबारे पुनर्विचार गर्न प्रधानमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र उपकुलपति सिफारिस समितिलाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

बैठकमा शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले त्रिभुवन विश्वविद्यालयको कुलपतिको प्रतिस्पर्धामा छानिएका १४ जनामध्ये कतिपयमा भ्रष्टाचार, बौद्धिक चोरीजस्ता मुद्दा परेको व्यक्ति भएको बाहिर आए पनि कसैले उजुरी नगरेकाले प्रक्रिया कानूनअनुसार नै भएको स्पष्ट पार्नुभयो ।

मन्त्रालयका सचिव सुरेश अधिकारीले उपकुलपति छनोटको प्रक्रिया रद्द गर्न नमिल्ने तर विवादित व्यक्तिका विषयमा सिफारिस समितिमा छलफल गरिने बताउनुभयो ।
बैठकमा सांसदहरुले त्रिविका बहालवाला कार्यवाहक उपकुलपतिले गरेका नियुक्ति कानून विपरीत भएकाले तत्काल त्यस्ता नियुक्ती रद् गर्ने माग गर्नुभयो ।

उपकुलपति छनोटका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको र उक्त कमिटीले दरखास्त माग गर्दा ४३ जनाले आवेदन दिएकामा एक जना अयोग्य ठहरिएको र ४२ जनाबाट १४ जनाको सर्टलिस्ट सार्वजनिक गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button