तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी अस्पताल मधेश प्रदेशको स्वास्थ्यको मेरुदण्ड : उपराष्ट्रपति यादव

बीरगंज । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वीरगन्जको नारायणी अस्पताल मधेश प्रदेशकै स्वास्थ्यको मेरुदण्ड भएको हुँदा यसको स्तर उन्नतिका लागि निजी क्षेत्रले गरेको सहयोग प्रशंसायोग्य भएको बताउनुभएको छ ।

नारायणी अस्पतालमा बहुराष्ट्रिय कम्पनी कन्साइ नेरोलेक पेन्टसद्वारा निर्माण गरिएको पोस्ट नेटल केयर वार्डको आज एक कार्यक्रमबिच उद्घाटन गर्नुहुँदै उपराष्ट्रपति यादवले स्वास्थ्य क्षेत्रमा देखिएका विकृति विसङ्गतिलाई सबै एकजुट भएर हटाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले मधेशमा शिक्षा र स्वास्थ्यको अवस्था कमजोर रहेको हुँदा स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर तिनै तहको सरकारले सुधारका लागि ठोस काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले केन्द्रिय अस्पतालको रुपमा रहेको नारायणी अस्पतालको स्तर उन्नतिका लागि सरकार क्रियाशील रहेको बताउँदै स्वास्थ्यको पहुँच सर्वसाधारण नागरिकसमक्ष पुर्‍याउन संघ, प्रदेश र स्थानीय तहले एक आपसमा समन्वय गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नारायणी अस्पतालको आकस्मिक कक्षमाथि ४५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको पोस्ट नेटल केयर वार्डमा नवजात शिशु र सुत्केरी आमाको उपचारसँगै रेखदेख गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चित्तरन्जन साहले बताउनुभयो ।

बीरगंज महानगरपालिकाको पहलमा वीरगन्जका वरिष्ठ उद्योगपति अशोक कुमार वैद्यले कान्साई नेरोल्याक पेन्टसको तर्फबाट वार्ड निर्माण गर्नुभएको थियो ।

नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सांसद प्रदीप यादव, अजय चौरसिया, बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री, श्याम पटेल, लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button