तपाईँ सुन्दै हुनुहुन्छः

प्रसिद्ध बागेश्वरी मन्दिरको छानोमा ताम्रपत्र लगाइँदै

बाँके । पश्चिम नेपालको प्रमुख शक्तिपीठ बागेश्वरी मन्दिरको छानो ताम्रपत्रले छाउने काम सुरु भएको छ । पर्यटन कार्यालय कोहलपुरको ४० लाखसहित आन्तरिक स्रोत एवम् सहयोग सङ्कलन गरेर करिब ७५ लाख लागतमा उक्त काम सुरु गरिएको बागेश्वरी मन्दिर व्यवस्थापन समितिका सदस्य एवम् मन्दिर सौन्दर्यीकरण उपभोक्ता समितिका सचिव नारद पुरीले जानकारी दिनुभएको छ।

उहाँका अनुसार मन्दिरको छानो ताम्रपत्रले छाउनुपूर्व गर्नुपर्ने काम अहिले भइरहेको छ । स्थानीय साधन स्रोतको प्रयोग गरी मन्दिरको जीर्ण अवस्थामा रहेको छतको टायल निकाल्न सुरु गरिएको छ । धेरै पहिले राखिएको टायल जीर्ण भई खस्न थालेपछि मन्दिर व्यवस्थापन समितिले सौन्दर्यीकरण गर्दै छतमा ताम्रपत्र लगाउने निर्णय गरेको पुरीले बताउनु भयो । ‘टायल जीर्ण भएपछि अब के गर्ने त भन्ने छलफल गर्दा ताम्रपत्र लगाउने निष्कर्षमा पुगेका हौँ,’ उहाँले भन्नुभयो ‘त्यसपछि सहयोगदाताको खोजी गर्दै जाने क्रममा पर्यटन पूर्वाधार कार्यालयले सहयोग गरेको छ ।

अन्य सहयोग आन्तरिक र दाताबाट हुन्छ ।’ बागेश्वरी मन्दिरको सौन्दर्यीकरणमा यसले इट्टा थप्ने पुरीको भनाइ छ । नेपालगन्ज–२ मा अवस्थित बागेश्वरी मन्दिर यस क्षेत्रकै हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण तथा पवित्र धार्मिक तीर्थस्थल हो । हिन्दू धर्मावलम्बीहरूका अलावा अन्य धर्म मान्ने मानिसहरू पनि बागेश्वरी मन्दिर आउने गर्दछन् । बुद्धिस्ट र सिखहरू सहजै मन्दिरभित्र पसी पूजाआजा गर्ने गर्दछन् । पछिल्लो समय यो मन्दिरको स्तरोन्नति हुँदै आएको छ ।

बागेश्वरीको दर्शनबाट मनोकामना पूरा हुने विश्वासका साथ दैनिक भक्तजन पूजाआजा लागि मन्दिर पुग्ने गरेका छन् । प्रमुख शक्तिपीठको रूपमा रहेको बागेश्वरीमा विजयादशमीको समयमा दर्शनार्थीको अझ बढी भिडभाड हुने गरेको मन्दिरका मूलमहन्त चन्द्रनाथ योगीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button